✍️अजय क्षेत्री
पोखरा-प्रदेश हक्की संघ गण्डकी र जिल्ला हक्की संघ कास्कीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय हक्की दिवसको १०० वर्ष पुगेको अवसरमा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम पोखरा रंगशालास्थित कबर्ड हलमा आयोजना गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खडकाले हक्की खेलको विकासमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउँदै, नयाँ वर्षसँगै खेलाडीहरूलाई आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रदेशस्तरमा अबका दिनमा गोल्ड मेडल जित्ने विश्वास पनि व्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति तथा प्रदेश हक्की संघ गण्डकीका अध्यक्ष दीपक बहादुर थापाले हक्की खेललाई १०० वर्षसम्म पुर्याउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै खेलाडी, पदाधिकारी तथा शुभचिन्तकहरूलाई नयाँ वर्ष २०८२को शुभकामना दिनुभयो।
सो अवसरमा हक्की संघका केन्द्रीय सदस्य हितकुमार गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सनकुमार लामा, प्रदेश हक्की संघका कोषाध्यक्ष यमन रसाइली, सदस्यहरू रविकान्त आचार्य, राजु थापा, अशोक गुरुङ, रञ्जित गुरुङ लगायत जिल्ला हक्की संघका पदाधिकारी, हक्की खेलाडी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।सो अवसरमा कास्की जिल्ला हक्की संघ र हिमालयन लाईफ नेपालका खेलाडि बिच मैत्रीपूर्ण खेलमा कास्की जिल्लाले जित हासिल गरेको थियो ।
कार्यक्रमको संचालन कास्की जिल्ला हक्की संघका अध्यक्ष सुजन पुनले गर्नुभएको थियो।कार्यक्रमले हक्की खेलको गौरवशाली इतिहासलाई सम्मान गर्दै भविष्यमा अझ व्यापक सहभागिता र सफलता हासिल गर्ने प्रेरणा दिएको आयोजकहरूले जनाएका छन्।