✍️ अजय क्षेत्री
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको नि:शुल्क उपचार उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यस निर्णयले क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेका बालबालिकाको जीवन रक्षाका लागि नयाँ आशा दिएको छ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकालाई सानो उपहार र अभिभावकलाई नि:शुल्क उपचार कार्ड वितरण गरिएको छ। कार्यक्रमका क्रममा बालबालिकाका अभिभावकहरूसँग अन्तर्क्रिया गर्दै, सरकारको यस प्रयासले स्वास्थ्य सेवाको पहुँचमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया प्राप्त भएको छ।
मन्त्रालयका अनुसार यो निर्णय देशका बालबालिकाको भविष्य सुरक्षित बनाउन गरिएको सानो तर महत्त्वपूर्ण कदम हो। अभिभावकहरूले क्यान्सरको उपचारका लागि आर्थिक भार कम भएकोमा राहत महसुस गरेको बताउँदै सरकारले स्वास्थ्य क्षेत्रमा थप सुधार गर्न प्रेरणा दिएको प्रतिक्रिया जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रमबाट मुलुकभरका बालबालिकाले समुचित स्वास्थ्य सेवा प्राप्त गर्न सक्षम हुने अपेक्षा गरेको छ। साथै, मन्त्रालयले उपचारको दायरालाई अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ।