पोखरा – नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरिने “२० औं फेवा नव वर्ष महोत्सव २०८२” को सम्पूर्ण तयारी सम्पन्न भएको होटल संघ पोखराले जानकारी दिएको छ। महोत्सव यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा तालको किनारमा करिब पाँच किलोमिटर क्षेत्रफलमा सञ्चालन हुनेछ।
संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै, शनिबार बिहान ११ बजे रंगीन सांस्कृतिक झाँकीसहित उद्घाटन गरिने जनाएको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, सडकलाई धोजा–पताकाले सजाइएको छ भने विभिन्न स्टेज निर्माण, सुरक्षाको व्यवस्था तथा यातायात व्यवस्थापन जस्ता तयारीहरू सम्पन्न भइसकेका छन्।
मौलिक नेपाली संस्कृति संरक्षण, परम्परागत खानाको प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुने महोत्सवमा प्रवेश पूर्णतः निःशुल्क हुनेछ। महोत्सव अवधिभर फेवा किनारको झण्डै तीन किलोमिटर सडकमा सवारी साधन बन्द गरी पैदल यात्री तथा पर्यटकका लागि विभिन्न आकर्षक गतिविधिहरू सञ्चालन गरिनेछ।
महोत्सवमा विशेष आकर्षणका रूपमा प्रदेशस्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, पप कन्सर्ट, लोक दोहोरी साँझ, व्याडमिन्टन कप, पर्यटक दौड प्रतियोगिता, कृषिजन्य र हस्तकलाका उत्पादनहरूको प्रदर्शनी रहनेछ। स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।
महोत्सवमा सहभागी पर्यटकहरूको सुविधाका लागि होटल संघ नेपाल अन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। साथै, अन्य व्यवसायिक तथा पर्यटकीय प्रतिष्ठानहरूले समेत विशेष छुट तथा सहुलियत दिने तयारी गरेका छन्।
सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’को रूपमा घोषणा गरिसकेको अवस्थामा यो महोत्सवले भ्रमण वर्षको सफल कार्यान्वयनमा समेत महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।