✍️रबीन्द्र माकाजू
पोखरा–३, नदीपुर स्थित धर्मशलिा वुद्ध विहार पोखराको पहिलो विहार जसको स्थापना वि.सं. १९९८ सालमा धर्मनदीले आफ्नो मातापिताको सहमतिमा १ रोपनी ३ आना जग्गा सहित विहार (भवन) निर्माण गरी समाजलाई अर्पण गरिन् । वास्तवमा यो पूण्यकार्यलाई पोखराको स्वर्ण इतिहासले सधैँ सम्झनुपर्ने हुन्छ । वौद्ध धर्म ग्रन्थमा भगवान बुद्धले धर्मका खातिर गरिने दानलाई श्रेष्ठदान भनेका छन् ।
वि.सं. १९५१ सालको चैत्रमा जन्मनु भएका उपासिका धर्मनदीका बाबु बुद्धिलाल हुन् भने माता पुतली कायस्थ । पोखराको तेर्सापट्टीमा जन्मेर हुर्केकी धर्मनदीको पुरानो नाम धर्ममाया कायस्थ थियो । सानै देखि जिज्ञाशु स्वभावका धर्मनदी धर्मकर्ममा रुचि राख्ने गर्दथिन् । उनले पढ्ने लेख्ने अवसर पाईनन् । किनभने मुलुकमा राणाशासन थियो । शिक्षाकेन्द्रहरू कतै थिएनन् । झन त्यसबेला नारीहरुले पढ्न हुदैन भन्ने आमचलन थियो । उनी आफ्ना मातापितासँग चारधाम यात्रामा भारत जाँदा त्यसवेला उनले भगवान बुद्धको फोटो पनि ल्षएकि थिइन् ।
वि.सं. १९८५ सालतिर बुद्धधर्मको प्रचारप्रसार हेतु भारतको कालिम्पोङबाट भिक्षु महादान आएका थिए । उनी अत्यन्त सरल, मिठास एवं व्यवहारतापूर्ण तवरले धर्म देशना गर्दथे । उनको प्रवचनले धेरैको हृदय जित्यो । धर्मशीला अनागरिकजी त यत्ति धेरै प्रभावित भइन कि उनी प्रव्रजित भएर भिक्षुणी बन्ने संकल्प गरिन् । उनी भारतको कुथीनगर पुगेर धर्मशिला गुरु माँको रपमा पोखरा वि.सं. १९९१ सालमा फर्किन् । सबैभन्दा पहिले धर्मनदीले गुरु माँ लाई चिवरदान गरिन् । चेलाचेली बनाउने क्रममा धर्मनदीलाई पहिलो नम्बरमा रोजिन् । धर्मशीलालाई वस्नका लागि कुनै विहार नभएकाले आफ्नै बाबुको जग्गामा छुट्टै कटेरो बनाइन् । गुरुमालाई सर्मथन गर्नेको सख्या पनि वाक्लो हुदै थियो । ठाउँको अभावले गर्दा धर्मदेशना गर्न असहज भयो । धर्मशीलाले आफ्ना चेलाचेलीसँग भने– मलाई यहाँ बसेर काम गर्न कठिन भयो । बरु म भारतकै कुथीनगर विहारमा जान्छु । गुरुमाका यस अवधारणाले विशेष गरी चेलीहरु छटपटिए । केही साथीहरुले धर्मनदीलाई सु¥याउँदै उनीहरुले भने– हेर धर्मनदी ! हामीले कुनै पनि हालतमा धर्मशीला गुरुमालाई भारत जान दिनुहुन्न, बरु तिमीले गुरुमाका लागि एउटा विहार बनाइदेऊ ।
साथीहरुको यो सुझाव धर्मनदीलाई साह्रै मन प¥यो । उनले यो समस्या आफ्ना मातापिता समक्ष पोखे । छोरीको जिद्दी देखेर बाबु आमाले १ रोपनी ३ आना जग्गा (हाल विहार भएको) जग्गादान दिनुका साथै पुरानो २ तले १८१८ को ढुंगा माटोले बनेको विहार समेत बनाईदिए । यसको उल्लेख विहारमा अवस्थित शिलालेखले स्पष्ट पार्दछ ।
बुद्ध विहार बनिसकेपछि यो ठाउँ नारी शिक्षा केन्द्र मात्र नभएर राणा विरोधी प्रजातन्त्र पे्रमी आश्रयस्थल पनि बन्न पुग्यो । धर्मशिला गुरुमाले धर्मदेशनाका साथसाथै चेलनीहरुलाई बटुलेर पढाउने पनि गर्दथिन् । विहारमा नेपाली कांगे्रसका नेताहरु श्रीभद्र शर्मा, श्रीकान्त अधिकारी, मिनबहादुर गुरुङ, पं. ऋषिकेशव पराजुली, पं. मुक्तिनाथ शर्मा, पे्रमचैतन्य ब्रह्मचारी, अमृतप्रसाद शेरचन आदिको आवतजावत भैरहन्थ्यो । धार्मिकस्थल भएका कारण प्रजातन्त्रपे्रमीहरुका लागि धेरै सजिलो पनि थियो ।
२०१८ सालबाट पोखरामा सामुहिक बुद्धजयन्ती मनाउने चलन चल्यो । २०२२ सालतिर ज्ञानमाला भजन शुरु भयो । विहारका हरेक गतिविधिमा धर्मनदीको विशेष सहयोग हुने गर्दथ्यो । २०२९ सालतिर पोखरामा पहिलोपटक महापरित्राणपाठ भएको थियो । साधक धर्मनदी धार्मिक साधना कार्यमा दिलो ज्यान दिएर लाग्दथिन् तर २०२९ सालतिर उनी थला परिन् र यस धर्तीबाट सदासदाका लागि बिदा लिईन् । विहार बनेपछि पोखरा पनि भिक्षुहरूको प्रमुख आश्रयस्थल बन्यो । २०११ सालमा भिक्षु शाक्यानन्द पोखरा आई धर्मदेशना गरेका थिए । विहारमा धर्मशिला गुरुमाँ पछि भिक्षु शुभद्र, भिक्षु श्रद्धानन्द, कर्मशीला गुरुमाँले यो विहार सञ्चालन गरेका थिए ।
यही बुद्ध विहारको विशेष पहलमा पोखराको पुम्दीमा विश्वशान्ति स्तुप निर्माण भएको छ । आज पोखराको धर्मशीला बुद्ध विहार पवित्र बौद्ध तीर्थस्थलको रूपमा चिनिएको छ । यहाँ बुद्ध धर्म सम्बन्धि गतिविधि भैरहेका छन् । नेपालका राष्ट्रिय विभूति, शान्तिका अग्रदूत भगवान बुद्धका करुणामय, मैत्री शिक्षाहरु यहाँबाट प्रवाह भैरहेको छ । २०४३ साल कात्र्तिक २६ गते धर्मशीला गुरुमाको निधन भएपछि यो विहारको नाम धर्मशीला बुद्ध विहार राखिएको हो । तर जे होस् यो विहारको स्थापना र विकास सँगै उपासिका धर्मनदीको त्याग, तपस्या, नाम र यश जोडिएको छ । ढिलै भएपनि उनको यी अमूल्य र अनुकरणीय योगदानको सर्वत्र चर्चा, परिचर्चा हुन थालेको छ । वास्तवमा त्याग र दानको महिमा समयले देखाउँछ । वास्तवमा साधक धर्मनदीको निष्ठा, समर्पण एवं एक जीवन्त इतिहास बनेर पोखराको इतिहासमा युगयुग बाँचिरहनेछन् । बाँचिरहनेछन् ।
भवतु सस्व मंगलम् ।