Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • विचार
  • विचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

इतिहासमा पोखराको वडाहाकिम धन शम्सेर

Share on facebook
Share on twitter
Share on linkedin

✍️ रवीन्द्र माकाजू
पोखराले कहिल्यै विर्सन नसक्ने वडाहाकिमको नाम हो –मेजर जनरल धनसमसेर जंगबहादुर राणा । यिनी पाल्पाका वडाहाकिम कमाण्डर इन चिफ रुद्र शम्सेर राणाका छोरा थिए । यिनको जन्म पाल्पा दरवारमा भएको थियो । यिनी सानै देखि अध्ययनशील र चलाख स्वभावका थिए । यिनी धेरै भाषामा ज्ञाता थिए । यिनको तन्त्ररहस्य भन्ने पुस्तक पनि प्रमाणित भएकाले यिनी त्यसबेला ठूला तान्त्रिक रूपमा पनि चिनिन्थे ।



वि.सं. १९५२ साल पौष २८ मा जन्मिएका वडाहाकिम वि.सं. १९९१ सालतिर पोखरा आएका थिए भनिएता पनि २००६ सालभन्दा अगाडि उनको नाम त्यति चर्चामा सुनिन्न ।जनजागरणको सत्यतथ्य पोखराको एउटा इतिहास पुस्तकमा पं. ऋषिकेशव पराजुलीले लेखेका छन् । पोखरामा स्कुल खोल्न सजिलो हुन्छ भन्ठानेर वडाहाकिम मेजर जनरल धनशम्सेरलाई नै अध्यक्ष बनाइयो र मैले सचिवको भूमिका खेले ।



पोखरामा शिक्षक अभाव भएकाले धनशम्सेरकै जोडवलले भक्तपुरबाट जगन्नाथ उलकलाई ल्याइएको जानकारी संस्कृतिविद सुनिल उलक बताउछन् । धनशम्सेर पोखराको मोहरियाटोल बस्दथे । त्यसलाई धनशम्सेरको दरवार भनिन्थ्यो । त्यहाँ कला, नाटक संगीतका कार्यक्रम चल्दथ्यो । उनी हार्विन, तवला बजाउथे । धनशम्सेर छोरा हरिराजा (त्रैलोक्य समसेर) संगीतका ज्ञाता थिए । त्यहाँ सर्वज्ञमान प्रधानाङ्ग संगीत सिक्न जान्थे ।



संस्कृतिविद सुनिल उलकका भनाइ अनुसार वि.सं. २००२ सलातिर पोखरामा औलो तथा झाडापखालाको प्रकोप निकै बढेको थियो । यस घटनालाई लिएर वडाहाकिम धनशम्सेरले बैद्यखानामै एलोयोपेथी उपचार पनि शुरु गर्न लगाए । त्यसपछि पोखरामा दयाविर सिंह कंसाकारले परोपकार औषधालय खोलेका थिए ।



वि.सं. २००६ साल चैत्र २९ गते बैशाख कृष्ण नवमीका दिन पोखरामा भएको भीषण अग्निकाण्डका कारण पनि मेजर जनरल धन शम्सेरलाई पोख्रेलीहरुले विर्सन सक्दैनन् । यिनले विन्दुवासिनी मन्दिर मांसाहुति यज्ञ गर्न लगाएका थिए । जहाँबाट भिषण अग्निकाण्ड श्रीगणेश भयो । यस भीषण अग्निकाण्डमा समग्र पोखरा भष्म भएको थियो । ४७५ घर नष्ट भएको र १ दर्जन व्यक्तिले ज्यान गुमाए । के कति धन क्षति भयो एकिन भएन ।



आकस्मिक भएको यस दुर्घटनामा जे जसरी जो जसले आरोप प्रत्यारोप लगाइए पनि पोखरेलीले भने त्यसपछिका केही दिन दुखकष्टसँग बिताउन बाध्य भए । यस आगलागीको घटना भन्दा पहिले वि.सं. १९९८ फागुन ३० गते पनि पोखरा बजारमा आगलागी भएको थियो । त्यसबेला पोखरा बजारमा १५ घर जलेर नष्ट भएका थिए । ती १५ घर मध्य ३ घरका मानिस साह्रै नै गरीब भएको जाहेरी बडाहाकिम मे.ज. धनशम्सेर सामु परेको हुँदा खाना खर्च रु २० र घर बनाउन रु ५० गरि मो.रु. ७० का दरले तीनजनालाई पोखरा तहसिल मार्फत हात हातै बाडिएको थियो ।



यस पटक पनि आगलागीको तत्कालै राहतको रुपमा बडाहाकिम मे.ज. धन शम्सेरले बिपन्नलाई आश्रय तथा खाना दिन मोरु ३००० खर्च गरेका थिए । महाराजा श्री ३ मोहनशम्सेर सामु पनि बिन्तीपत्र चढाए । यस अगाडि नै बडाहाकिम धनशम्सेरले घरवार नभएका ज्यालादारी गरेका बसेकालाई तत्कालै राहत मोरु १३९५ तथा २०० मन चामल आधा दाममा उपलब्ध गराउँदा भएको नोक्सानी तथा ढुवानी खर्च गर्दा मोरु १०२७२ खर्च भएको थियो । श्री ३ ले बिन्तीपत्र पाउना साथ तुरुन्तै काठमाडौबाट सरदार फत्तेबहादुर पाण्डे र क्याप्टेन दिब्यशम्शेर थापा जाँचबुझका लागि पोखरा पठाए ।



पोखरामा धनशम्सेरको प्रसङ्ग चलाउँदा पुरानो बुढापाकाले विर्सन नसक्ने प्रसङ्ग हो– भीमसेनटोलका साहु चन्द्रबहादुर भारीले घोडा नदिएको कारण गोर्खेलोरी कमेर घाँस खुवाएको प्रसङ्ग । भारीलाई त्यसवखत सार्वजनिक स्थलमा नराम्ररी कुटेको थियो । हात पछाडि बाँधेर पिडुँला पुट्ने गरी पितिएको घटना वुढापाकाहरु अहिले पनि सम्झन्छन् । एउटा जोगीसँग अग्रंजी भाषा सिकेको नाउँमा स्वतन्त्रता सेनानी स्व. रामबहादुर वडगामीलाई धन शम्सेरका अङ्गरक्षकले नराम्ररी चुटेको प्रसङ्ग छन् ।



००७ सालको आन्दोलनमा आन्दोलनकारीले धन शम्सेरलाई माफी मात्र माग्न लगाएनन् । हातमा चारतारे झण्डा बोकाएर प्रजातन्त्र जिन्दावाद भन्न समेत लगाए । पछि उनी पोखराबाट हट्ने बेलामा केही उत्साही युवाहरुले टिन ठटाएर उनको खिल्ली उडाएका थियो ।
मेजर जनरल धनशम्सेर राणाको वि.सं. २०३९साल जेष्ठ ११ गते देहावसान भएको संस्कृतिकर्मी सुनिल उलक बताउँछन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist