✍️रवीन्द्र माकाजू
स्वतन्त्रता सेनानी स्व. रामबहादुर बडगामी पोखराका एक ऐतिहासिक पात्र हुन् । ००७ सालका आन्दोलनकारी नेता । ००७ सालको आन्दोलनमा जनचेतना जगाउनुका साथै सङ्गठन विस्तारका लागि श्रीभद्र शर्मा पोखरा आउने, जाने गर्दथे ।
पोखरा आउँदा पे्रमराज मुल्मी कहाँ बस्दथे । शर्माले मुल्मीलाई भने– काँगे्रसको सदस्य बनेर पोखरामा राणा विद्रोही गतिविधिमा संलग्न हुन चाहनेहरूको जमात तयार पार्नुहोस् । नभन्दै मुल्मीले १०÷१२ जनाको समुह तयार पारे । त्यो समुहमा संलग्न भए– रामबहादुर बडगामी । उनीहरुले आफ्नो रगतको छाप पनि लगाएर काँगे्रसको सदस्यता लिए ।
स्वतन्त्रता सेनानी वडगामीले मलाई भनेका थिए– बाग्लुङ, पाल्पा, रिडीको बाटो भएर बुटवल पुग्थें । नौतुनामा डा. केआई सिंहसँग भेट भयो । मैले आफू आन्दोलनको लागि पटना जान लागेको सिंहलाई खबर गरेँ । उनले पटना जाऊ भनेर निर्देशन दिए । पाल्पामा हुँदा मामा अम्बिकाप्रसाद लाकौलले बनारसमा सूर्यप्रसादसँग भेट हुन्छ, उनीसँग सम्पर्क गर्नु भनी निर्देशन दिए । नभन्दै जमलरोड पटनामा उपाध्यायसँग भेट भयो ।
सूर्यप्रसादले भने– “तँ के गर्न यहाँ आइस् ?” वडगामीले जवाफ दिए– “म कांग्रेसको सदस्य बन्न आएको हुँ ।” सूर्यप्रसादले वडगामीलाई कलकत्ता लिएर गए । सुवर्ण शमशेरको अफिसमा मातृकाप्रसाद कोइराला, निर्मल लामा, बालचन्द्र शर्मा आदि नेताहरुसँग भेट भयो । त्यहाँ उनी १०–१२ दिन बसे । पछि पोखराका पं. मुक्तिनाथ शर्मा आए । बनारसमा विश्वेश्वरप्रसाद कोइरालासँग वडगामीको भेट भयो । कोइरालाले भने– बडगामी ! तिम्रो सम्पूर्ण खाने, बस्ने व्यवस्था निर्मल लामाले गर्नेछन् । यसलाई साथमा राख भनेर कोइरालाले लामालाई अह्राए । वडगामीले सुवर्ण शमशेरसँग सम्पर्क बढाए ।
उनको काम थियो विभिन्न जिल्लामा गएर नेपाली कांग्रेसको संगठन विस्तार गर्ने र आन्दोलनकारीलाई आर्थिक सहयोग पु¥याउने । संगठन गर्ने सिलसिलामा बडगामी देशका पश्चिमी भेगमा जाने गर्दथे । कहिले धनगढी, दाङ, तुलसीपुर, नेपालगञ्ज, तौलिहवा, कृष्णनगर, भैरहवा पुग्थे । त्यहाँ उनले पम्प्लेट, पर्चा, पत्रिका बाँड्ने र पठाउने काम गर्थे । पछि उनी सुवर्ण शमशेरको ढिकुटीको खजाञ्ची बने । भनिन्छ – सुवर्ण शमशेरको ढिकुटीको चाबी दुई जनासँग हुने गर्दथ्यो । एउटा रानी साहेबासँग अर्को रामबहादुर वडगामीसँग ।
पं ऋषिकेशव पराजुलीले जनजागरणका सत्यतथ्य पोखराको इतिहासमा लेखेका छन् २००३ साल आयो, भारतमा नेपालको राजनीति आरम्भ भएको कुरा सुनियो, त्यसमा मुक्तिनाथ तिमिल्सिना बाटुलेचौर, प्रेमराज मुल्मी भैरवटोल पोखरा र म ३ जनाको प्रमुख गठबन्धन थियो, भारतमा सम्पर्क राख्न एकजना मानिस नै को पठाउने भन्ने सल्लाह गर्दा २००४ या २००५ सालतिर रामबहादुर वडगामी, भैरवटोल जान तयार भएकोले उनैलाई पठाइयो । सम्पर्क गरेर केही पत्रिकहरु समेत लिएर फर्के । त्यसपछि भारतमा नेपाली राजनीतिका जे जति पत्रपत्रिका निस्कन्छ ती सबै मेरो घरमा आउन थाल्यो ।
पोखराको विन्ध्यवासिनी मन्दिर नेपालकै एक शक्तिपीठको रुपमा परिचित छ । यो मन्दिर क्षेत्र अहिले धार्मिक भक्तहरुका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्रविन्दु बनेको छ । यो मन्दिरको सम्पत्ति जोगाउने काममा स्वतन्त्रता सेनानी रामबहादुर वडगामीको महत्वपूर्ण भूमिका रहेको छ । बडगामी २०४६ सालमा श्री विन्ध्यवासिनी संरक्षण एवं अनुसन्धान समिति गठन गरेर मन्दिरको सम्पत्ति गुठीको नाममा ल्याउन सफल भए । आज उक्त जग्गामा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय र गुरुकुलको निर्माण कार्य हुँदैछ ।
करीब ५० रोपनी जग्गा आजको बजार मूल्यमा १ अर्ब भन्दा बढी हुन जान्छ । यसरी अबौंको सम्पत्ति मन्दिरको नाउँमा संरक्षण गरेर जुन सत्कार्य वडगामीले गरेका त्यो इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । जसको जतिसुकै प्रशंसा गरेपनि थोरै नै हुन्छ ।
मठ मन्दिरका नाउँमा रहेको गुठी जग्गाहरु क्रमशः व्यक्तिका नाउँमा दर्ता भै धर्म संस्कृति, जात्रापर्व लोप हुँदै गइरहेको अवस्था देखेर समाजसेवी रामबहादुर वडगामीलाई गहिरो चोट पयो । उनले सोचे– कतै पोखराको प्रमुख मन्दिर विन्ध्यवासिनीको जग्गाहरु पनि यस्तै दुरुपयोग हुने त होइन ?
बडगामी काठमाडौं गएको बखत गुठी संरक्षण विन्ध्यवासिनी मन्दिरका नाउँमा के कति जग्गा रहेको छ त्यसको यथार्थ जानकारी लिन निवेदन दिए । गुठी संस्थानले मन्दिरको नाउँबाट पुजारीहरुले ३६ रोपनी पाखो जग्गा र २० रोपनी खेत आफ्नो बनाइसकेको जानकारी दिए ।
यस घटनाबाट चिन्तित वडगामीले विन्ध्यवासिनी गुठीको जग्गा पुनः गुठीकै नाममा बनाउनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरे । वडगामीले सर्वप्रथम आफनै अध्यक्षतामा श्री विन्ध्यवासिनी संरक्षण एवं अनुसन्धान समिति ०४६ गठन गरेर यस कार्यमा लागि परे । उक्त समितिको उपाध्यक्षमा तीर्थ श्रेष्ठ थिए भने सचिवमा खगेन्द्र पराजुली । त्यस्तै कोषाध्यक्षमा पवित्रराज रेग्मी थिए भने सहसचिवमा रमेश अधिकारी । समितिले मन्दिरको जग्गा व्यक्तिको नाउँमा आएपनि सो बदर गरी विन्ध्यवासिनी गुठीकै नाउँमा कायम गर्न कानुनी प्रक्रिया शुरु गरे ।
स्वतन्त्रता सेनानी स्व. रामबहादुर बडगामी (भैरवटोल पोखरा) को जन्म १९८७ साल भाद्र २४ गते मंगलबार भएको थियो । उनका पिता गंगाबहादुर र माता धनलक्ष्मी बडगामी हुन् । स्वतन्त्रता सेनानी रामबहादुर १ वर्षको हुँदा पिताको स्वर्गारोहण भएकाले बाबुको स्नेह पाउन सकेनन् । हरिमान भन्ने गुरुसँग १ कक्षासम्म अध्ययन गरेका रामबहादुरले त्यसपछि विन्ध्यवासिनी पाठशालामा ठूलो वर्णमालाका साथै ३ कक्षा सम्म अध्ययन गरे ।
त्यसपछि मुक्तिनाथ दर्शन गर्न आएका महात्मासँग अंग्रेजीको ँष्चकत द्यययप (फस्र्ट बुक) पढ्ने अवसर पाए । यो खबर तत्कालीन बडाहाकिम मेजरजनरल धनशमशेरले थाहा पाएर ती महात्मा जोगीलाई तँ को होस् कहाँबाट आइस् भनेर हकारे र फुर्सेखोला कटाए । अनि बालक रामबहादुरलाई नराम्ररी कुटे । त्यसबेलाको घटना सम्झँदै बडगामी भने – मलाई अनाहकमा कुटे सक्छस् भने अझै कुट ।”
बडगामीको अरू थुपै्र विशेषता थिए । उनमा व्यवसाय गर्ने नयाँ नयाँ सोच थियो । उनले ००९ सालमा बुटवलमा मिलन चलचित्र मन्दिर सञ्चालन गरेभने २०१३ सालमा पोखरामा छापाखाना शुरु गरे । उनको पे्रमबाट २०१६ सालमा स्व.चित्राङ्गर सिग्देलले हिमदूत साप्ताहिक निकाले । उनी ०१६ सालमा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायका निजी सचिव थिए । उनले ०२३ सालमा वीरगंजमा बोर्डिङ स्कुलका रूपमा प्रवीण आदर्श शिक्षालय खोले । बडगामीलाई महिला नेतृ मंगलादेवी सिंहले धर्मभाइ स्वीकारेर हरेक वर्ष भाइटिका लगाइदिने गर्दथिन् ।
यसरी प्रजातन्त्र र मातृभूमिको सेवा गर्दागर्दै ०७८ साल माघ ११ गते उनले अन्तिम पटक सास फेरेका थिए । उनले मुलुकमा प्रजातन्त्रको आगमन भएको देखे पनि उनको अन्तिम ईच्छा आफ्नो शवमाथि चारतारे झण्डा ओढाइयोस् भन्ने चाहनालाई पूरा गर्ने तर्फ भने कसैको ध्यान गएन ।