✍️ विवेक न्यौपाने
पोखराको फुर्सेखोलामा डुबेर शनिबार दिउसो एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १५ नयाँगाउँका १५ वर्षीय रोनिष गुरुङ रहेका छन् ।
पोखरा १७ पावरहाउसस्थित फुर्सेखोलामा शनिबार दिउसो साढे ३ बजेतिर पौडी खेल्नेक्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा उद्धार टोली खटेको थियो ।
टोलीले गुरुङलाई डुबेकै स्थानबाट निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले ४ः५० बजे गुरुङलाई मृत घोषणा गरेको निरीक्षक पौडेलले बताए ।