२१ चैत, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत पाँच दिनयता बारामा छन् । बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर मधेश झरेका उनी बिहानदेखि साँझसम्म घरदैलोमा व्यस्त हुन्छन् ।
राउत गढीमाईस्थित पार्टी कार्यालयमै बास बस्छन् । जनमतका प्रवक्ता बीपी साहका अनुसार हरेक दिन बिहान उठेर अगुवा कार्यकर्तालाई अघि लगाउँदै घरदैलो थाल्छन् । कति ठाउँ उनको साथमा उम्मेदवार कुशवाहा हुन्छन्, कतिपय बेला हुन्नन् ।
दिनभर घरदैलो गरेर राउत साँझ पार्टी कार्यालयमै फर्किन्छन्, जहाँ वडा इन्चार्ज तथा अगुवा कार्यकर्ता गरी १००-१५० का लागि मेसमा खाना पाकेको हुन्छ । राउत पनि त्यही खाना खान्छन् र पार्टी कार्यालयमै सुत्छन् । साह भन्छन्, ‘कुनै आकस्मिक काम प¥यो भने हो, नभए चुनाव सकेर मात्र फर्किनुहुन्छ होला ।’
घरदैलोका क्रममा पनि राउत चर्को भाषण गर्छन् । बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर सीके राउत, उपेन्द्रमाथि निशाना साध्छन्, ‘जहरिला साँप’, ‘बाहिरिया फिरंगी’, ‘भगौडा’ जस्ता उपनाम दिएर आलोचना गर्छन् ।
मधेश आन्दोलनको इतिहासमाथि ‘ब्ल्याकआउट’ पुस्तक लेखेका रामरिझन यादव मधेशमा उपेन्द्रको वर्चस्व तोडेर आफू हावी हुन राउत अग्रसर रहेको बताउँछन् । ‘जसको पक्षमा जनमत छ, त्यसको आलोचना नगरी कमजोरी नऔंल्याई आफू बलियो हुन सकिन्न’ उनी भन्छन्, ‘त्यसैले, मधेश राजनीतिमा उपेन्द्र यादवको शक्ति पहिचान गरेदेखि नै राउत उनको कमजोरी खोतल्न लागेका हुन् ।’
सीकेले आफूबारे गरेको टिप्पणीबारे उपेन्द्रले धेरै बोलेका छैनन् । २० गते उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यत्ति भने, ‘म झन्डा उठाएर मूल बाटोबाटै आइरहेको छु । नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन ।’
राउतबाट निरन्तर आलोचना खेपिरहेका जसपा अध्यक्ष यादवको यो नै एक मात्र जवाफ हो । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ मा राउतले नै यादवलाई दोब्बर मतान्तरले हराएका थिए । १० वैशाखमा हुने उपचुनावमा यादवसँग जनमतका कुशवाहा उम्मेदवार हुन्, प्रतिस्पर्धा भने राउत आफैंले गर्दैछन् ।
यादव जे खोज्छन्, राउत त्यही रोज्छन्
पछिल्लो चुनावयताको लुकामारीले मधेश राजनीतिमा उपेन्द्र यादव र सीके राउतको प्रतिस्पर्धा देखाउँछ ।
२०४८ सालमा पहिलो पटक नेकपा एमालेको तर्फबाट सुनसरीमा उठेका यादव गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । २०५१ सालको आम निर्वाचनमा पनि सुनसरीबाटै लडेर पराजित भएका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट विजयी भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभामा पनि दुवै क्षेत्रमा चुनाव लडेका उनी मोरङमा पराजित भए, सुनसरीमा जिते । २०७४ मा भने उनले सुनसरी छाडेर सप्तरी फर्किए र क्षेत्र २ बाट चुनाव लडे । यो पटक उपेन्द्र यादव पुरानै क्षेत्रमा चुनाव लड्ने–नलड्ने अलमल थियो । किनकि स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको जनमत पार्टीका अध्यक्ष सीके राउत पनि त्यही क्षेत्रबाट उठ्न सक्थे ।
उम्मेदवारीको दुई दिनअघि पाँचदलीय गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेपछि यादवले सप्तरी–२ नै रोजे । जनमत पार्टीका अध्यक्ष राउतले पनि यादवसँगै प्रतिस्पर्धा छेडे । ४ मंसिरको चुनावमा एमालेको समर्थनका बाबजुद यादव पराजित भए, दुई गठबन्धनसँग प्रतिस्पर्धा गरेका राउत भारी मतले विजयी भए ।
सत्ता राजनीतिमा पनि उपेन्द्र यादव र सीके राउतबीच प्रतिस्पर्धा चलेको देखिन्छ ।
मधेश प्रदेशसभामा एमालेले २३, कांग्रेसले २२ सिट जित्दा जसपाले १६ र जनमतले १३ सिट जित्यो । १० पुसमा एमाले, माओवादी सहित ७ दलको गठबन्धन बन्दा जसपा र जनमत दुवैले मधेश प्रदेशको मुख्यमन्त्री आफूले पाउनैपर्ने अडान राख्यो । आलोपालोमा सहमति भए पनि जसपाका सरोज यादव मुख्यमन्त्री बने ।
राष्ट्रपति निर्वाचनसँगै गठबन्धन फेरियो । माओवादीले १० दलको नयाँ गठबन्धन बनाएपछि संवैधानिक पदहरूको भागबण्डा हुँदा कांग्रेसले राष्ट्रपति लियो भने जसपाले उपराष्ट्रपति दाबी ग¥यो । जसपाको दाबीमा गठबन्धनमा दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहमत भए, तर जनमतले साना दलहरूको समर्थन जुटाएर छुट्टै उम्मेदवार (ममता झा) खडा ग¥यो । नेताहरूका अनुसार हार्ने निश्चित प्रतिस्पर्धामा जनमतले छुट्टै उम्मेदवारी दिनुको एक मात्र उद्देश्य थियो, उपेन्द्र यादवलाई ललकार्नु ।
त्यसपछि सुरु भयो, उपनिर्वाचनको माहोल । जसरी पनि उपराष्ट्रपति लिनु र रामसहाय यादवलाई उम्मेदवार बनाउनुको पछाडि उपेन्द्र यादवको स्वार्थ थियो, बारा–२ मा उपचुनाव । गठबन्धनको बलमा उपचुनाव जित्ने र फेरि संसदमा आउने उपेन्द्रको दाउलाई बुझेका सीके राउतले उपनिर्वाचनको मिति तय नहुँदै उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्रमा जनमतले उम्मेदवार उठाउने घोषणा गरे । अनि, मंसिरको चुनावमा बारा २ मा दोस्रो भएका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएका छन् ।
अनि, उपेन्द्र यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको समर्थनका बावजुद राउत आफ्नो लक्ष्यमा डगमगाएका छैनन् । कतिसम्म भने बारा–२ मा जनमतको उम्मेदवारी रोक्ने शर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष राउतलाई उपप्रधानमन्त्री तथा उद्योगमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर राउतले सरकार नै छाडेर चुनावी प्रतिस्पर्धा रोजेका छन् ।
मधेशको ‘मसिहा’ बन्ने राउतको आकांक्षा
उपेन्द्र यादव विरुद्ध हरहालतमा लड्नुको पछाडि सीके राउतको मधेशको ‘मसिहा’ बन्ने महत्वाकांक्षा स्पष्टै झल्किन्छ ।
‘उनी सत्तामा आउजाउ गरिरहेका दलहरूप्रति मधेशमा रहेको असन्तुष्टि समातेर स्थापित हुन लागिपरेका छन् । मधेशको मसिहा बन्ने उनको ध्येय स्पष्टै छ’, पूर्वराजदूत समेत रहेका मधेश मामिलाका जानकार विजयकान्त कर्ण भन्छन् ।
महन्थ ठाकुर नेतृत्वको लोसपा निकै कमजोर देखिएको छ । प्रत्यक्षतर्फ ४ सांसद जितेको उसले थ्रेसहोल्ड कटाउन सकेन र राष्ट्रिय पार्टीको मान्यता समेत पाएन । मधेश प्रदेशमै पनि लोसपा ९ सिटमा खुम्चिएको छ । अरू पार्टीहरू झन् कमजोर छन् ।
उपेन्द्र यादव पनि निरन्तर ओरालो लागेका छन् । तर क्षेत्रीय पार्टीमध्ये सबभन्दा बलियो जसपा नै भएकाले सीके राउतले उपेन्द्रलाई निशाना बनाएका हुन् । उपेन्द्रलाई आक्रमण गरियो भने त्यो स्थान आफूले लिन सकिन्छ भन्ने राउतलाई लागेकाले उनका कमजोरीलाई देखाउन उद्यत रहेको कर्ण बताउँछन् ।
मधेशमा राजनीतिक मसिहा बन्ने खिचातानी नयाँ भने होइन । २००७ सालको राजनीतिक परिवर्तनपछि वेदानन्द झा, २०४७ को बहुदलीय व्यवस्थापछि गजेन्द्रनारायण सिंह र २०६३÷६४ को मधेश आन्दोलनपछि उपेन्द्र यादव उदाएका थिए ।
अहिले डा. सीके राउत आएका छन् । ‘स्वतन्त्र मधेश’को नारा लगाएर राजनीतिक चर्चामा आएका राउत २४ फागुन २०७५ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न अविभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्दै’ खुला राजनीतिमा आएका हुन् । लगत्तै उनले जनमत पार्टी गठन गरेर चुनावी तयारी थाले ।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएर समानुपातिकतर्फ ५ सिट पाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रत्यक्ष चुनाव जिते । यो चुनावी सफलतासँगै उनी मधेशको शक्ति हत्याउने राजनीतिमा केन्द्रित भएको बताउँछन्, लेखक रामरिझन यादव । तर राउतको एजेण्डा र राजनीतिक बाटो भने अझै स्पष्ट भइनसकेको उनको विश्लेषण छ । ‘राजनीति नै गर्ने चाहनाका साथ अमेरिकाबाट फर्किएको बताउँदै नयाँ प्रयोगका विषयहरू त उठाउँछन् तर त्यो नयाँ भनेको के हो र त्यसलाई कसरी हासिल गर्ने भन्ने स्पष्ट पार्न सकेका छैनन्’, उनले भने ।
उनका अनुसार, उपेन्द्र यादव गजेन्द्रनारायण सिंहको संघीयता, संविधानसभा लगायत एजेन्डा बोक्दै विद्रोहको नेतृत्व गरेर मधेशको राजनीतिमा उदाएका थिए । त्यसमा सहमत पूर्वराजदूत कर्ण भन्छन्, ‘माओवादीले उठाएको पहिचानको एजेण्डा र तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा भएको पहिलो मधेश आन्दोलनको नेतृत्व गरेर उपेन्द्र नेता बने । दोस्रो र तेस्रो मधेश आन्दोलनबाट उनले संविधानमा नै संघीयता राख्न भूमिका समेत खेले ।
सीके राउत भने त्योभन्दा फरक र सजिलो गरी मधेशमा स्थापित हुने कोशिशमा छन् । कर्णको बुझाइमा महन्थ ठाकुर र उपेन्द्र यादव पछिल्लो पाँच वर्ष काठमाडौंको सत्ता राजनीतिमा लिप्त रहँदा मधेशमा बढेको असन्तुष्टिलाई समाएर जनतामा जान राउतलाई सजिलो छ । तर मसिहा बन्न सहज भने छैन ।