मंसिर ४ को प्रतिनिधिसभा निर्वाचन लड्न चाहन्थे अर्थविद् स्वर्णिम वाग्ले। वाग्लेलाई टिकट दिलाउन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दिलोज्यान दिएर लागि परे। गगन त स्वर्णिमलाई काठमाडौँ-४ छाडेर आफू सर्लाही-४ बाट निर्वाचन लड्न राजी भएका पनि हुन्।
चितवन-१ बाट स्वर्णिमको नाम सिफारिस समेत भएको थियो। राजनीतिमा लाग्न विश्व बैंकको जागिर छाडेर आएका स्वर्णिमलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पत्याएनन्। देउवाको सामु गगन र विश्वप्रकाशको के जोर चल्ने? कसैगरी स्वर्णिमलाई टिकट दिलाउन सकेनन्।
तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न कांग्रेस तनहुँले वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईको नाम सिफारिस गर्यो। अन्तिम पटक चुनाव लडेर प्रधानमन्त्री बन्ने सपना देखेका रामचन्द्र पौडेलले नछाडेपछि देउवा निकट शंकर भण्डारीलाई तनहुँ-२ मा व्यवस्थापन गरियो। भट्टराईलाई हातमा लाग्यो शून्य!
टिकट नपाएपछि रामचन्द्र पौडेलविरुद्व वागी उम्मेदवारी दिने तयारी गरे भट्टराईले। मनोनयन दर्ताको अघिल्लो दिन २२ असोजमा भट्टराईले फेसबुकमा लेखेका थिए, ‘पार्टीको टिकटको पछि लाग्नुभन्दा तनहुँ क्षेत्र नम्बर १ का मतदाता माझ आफुलाई प्रस्तुत गर्नु नै उत्तम विकल्प हो भन्ने ठानेको छु। यसका लागि सबै साथीहरूलाई तयार रहन अनुरोध गर्दछु।’
उनका समर्थक पनि गोविन्द दाइले उम्मेदवारी दिने तयारी छ भन्थे। तर अन्तिम समयमा उम्मेदवारी नदिने निर्णय गरे। किनकि आफूलाई रिस्क जोनमा देखेपछि मनोनयन दर्ताको दिनभर भट्टराईसँग रामचन्द्र पौडेलले वार्ता गरेर बागी उम्मेदवारी रोक्न राजी गराए। त्यतिबेला पौडेलको भट्टराईलाई अफर थियो, ‘चुनाव अगाडि कांग्रेस केन्द्रीय समितिको पदाधिकारी, संसदमा जसै लैजाउँला।’
गोविन्द भट्टराई र स्वर्णिम वाग्ले दुवैलाई चुनाव लड्न चाहेर पनि कांग्रेसले टिकट दिएन। संयोग नै भनौँ मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको पेलानमा परेर टिकट नपाएका भट्टराई र वाग्ले वैशाख १० मा भएको उपनिर्वाचनमा भने निकटम् प्रतिस्पर्धी बने।
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि गोविन्दले कांग्रेसबाटै टिकट पाए। स्वर्णिमले टिकट पाउने छनक नदेखेपछि मनोनय दर्ताको २ दिन अगाडि मात्रै नेपाली कांग्रेस परित्याग गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ को उपचुनावमा उम्मेदवारी दिए।
स्वर्णिमले तनहुँ १ मा उम्मेदवारी दिएपछि कांग्रेसमा खैलाबैला मच्चियो। गोविन्दलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै पूर्वप्रधानमन्त्री त्रय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका बाबुराम भट्टराईले चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिन भ्याए।
राज्यसत्ता नै गोविन्द भट्टराईलाई जिताएर कांग्रेसको प्रतिष्ठा जोगाउन लागि परेको जगजाहेर छ।
तर पनि कांग्रेसको गढ भनिएको तनहुँ-१ कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका वाग्लेले भत्काइदिएका छन्। वाग्ले १४ हजार ७९७ मतान्तरका साथ निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार उनले ३४ हजार ९१९ मत पाए। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका भट्टराईले २० हजार १२२ मत ल्याए। राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी बन्ने भट्टराईको सपना चकनाचुर भएको छ। उपनिर्वाचनमा नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो बने। उनले ८ हजार ४८८ मत ल्याएका छन्।
मंसिर ४ को नतिजालाई हेर्दा स्वर्णिमले सबैभन्दा धेरै नेकपा एमालेको मत काटेका छन्। त्यतिबेला एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए। निर्वाचित भएको कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत पाएर निर्वाचित हुँदै छैठौँ पटक संसद प्रवेश गरे।
नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गरे। उनी त्यतिबेलाको स्वतन्त्र उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी मंसिर ४ को निर्वाचनमा चौंथो शक्ति बनेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। तर ५ महिनाको अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी एकाएक चौथाे शक्ति बनेको हो। बलियो संगठनबिना नै राष्ट्रिय स्वतन्त्र पार्टीले छलाङ मारेको छ।
२०४८ पछि भएका निर्वाचनमा पाँच पटकसम्म नेपाली कांग्रेसले तनहुँ-१ मा जित हासिल गर्दै एकछत्र राज गर्न सफल रह्यो। २०४८, ०५१ र ०५६ सालमा लगातार ३ पटक चुनाव जित्दै नेपाली कांग्रेसका उम्मेदवारले ह्याट्रिक नै मारे।
२०६४ को निर्वाचनमा भने भर्खर शान्ति प्रकृयामा आएको नेकपा माओवादी केन्द्र हाबी भयो। २०७० मा फेरी कांग्रेसले निर्वाचन जितेर गढ सावित गर्यो।
संघीय पुनर्संरचनापछि ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा २ वटा मात्रै कायम भयो । तत्कालीन क्षेत्र नम्बर २ मा पर्ने हालको व्यास नगरपालिकाको १२ वटा वडा र देवघाट गाउँपालिकाको छिपछिपे, बैडी र कोटा क्षेत्र नम्बर १ मा गाभियो।
तीनवटा क्षेत्र हुँदा तनहुँ २ मा ०४८ सालदेखि ०७० सम्म निरन्तर नेपाली कांग्रेसले जितिरह्यो। त्यतिबेलाको क्षेत्र नम्बर ३ पुरै र २ मा पर्ने हालको म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिका मिसाएर क्षेत्र नम्बर २ कायम छ।
२०७४ मा तनहुँ १ मा तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले जित दर्ता गराए। यो एमालेको इतिहासमा पहिलो जित थियो। त्यो पनि नेकपा माओवादीसँग मिलेर।
२०७८ मंसिरको निर्वाचनमा यो क्षेत्रमा फेरि कांग्रेसले नै जित्यो। प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि आइतबार उपनिर्वाचन भएको हो।
मतपरिणामको रुझानले नेपाली कांग्रेसको परम्परागत गढ त भत्काएको छ नै मतदाता परिवर्तन चाहान्छन् भन्ने पुष्टिसमेत गरेको छ।
भर्खर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको जनताको आकर्षण पूराना दलप्रतिको वितृष्णाको परिणाम भन्दा फरक पर्दैन।
पुराना दलको नेतृत्वप्रतिको वितृष्णा आफूले पाएको मत भएको वाग्ले बताउँछन्। ‘नयाँ युवाहरूले नेतृत्व गरेको राजनीतिक अभियानप्रतिको आशा पनि हो जस्तो मलाई लाग्छ’, उनले भने।
आफूले मतदातामाझ गरेको वाचा पूरा गर्न इमानदार प्रयास गर्ने वाग्लेले बताए। लोकतन्त्रमा एउटा व्यक्तिले जादुको छडी चलाएर चमात्कार गर्न नसकिनेको उनको भनाइ छ। ‘सामूहिक यत्न र प्रणालीबाटै गर्ने हो’, जित सुनिश्चित भएपछि उनले सञ्चारकर्मीसँग भनेका थिए।
वाग्लेले तनहुँले गर्व गर्न लायक सांसद बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचित भएको प्रमाणपत्र बुझ्ने कार्यक्रममा उनले भने, ‘तनहुँ जिल्लाका आदरणिय दाजुभाइ दिदीबहिनी तथा पुज्य बुवा आमाहरुको विश्वासलाई म डगमगाउने दिने छैन।’
जनताले गरेको अपेक्षा ठूलो भए पनि पूरा गर्न लाग्ने उनको प्रतिबद्धता छ।
उपनिर्वाचनको परिणामले मतदाता परिवर्तनको पक्षमा देखाएको राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले बताए।
‘जुन पुरातन सोंचका साथ पुराना दलहरूले काम गरिराख्याछन् त्यसलाई तोड्नुपर्छ र नयाँ सोचका साथ परिवर्तनका लागि सबै आम नागरिकले काम गर्नुपर्छ भन्ने हिसाबको मत जाहेर भएको छ’, उनले भने। यो मत आगामि निर्वाचनमा अझै बढ्ने उनको दाबी छ।
प्रमुख राजनीतिक दलका लागि प्रतिष्ठाको लडाइँ बनेको यो उपनिर्वाचनमा मतदाताले मतपत्रमार्फत् सच्चिन आग्रह गरिरहेका छन्। यसलाई नजरअन्दाज गर्नु दलहरूको मूर्खता हुनेछ।