✍️रवीन्द्र माकाजू
पोखराका बुढापाकाहरु श्रद्धेय वैठकलाल श्रेष्ठलाई श्रद्धापूर्वक सम्झने गर्दछन् । जसले पोखरामा माघजात्रा शुरु गरे । उनलाई कतिपयले गुरु समेत भन्ने गरेको पाउँछौ । वास्तवमा उनी धर्म, संस्कृतिका एक कुशल माली नै थिए । वैठकलाल पोखरामा कीर्तिपुर गुनपौंटोलबाट पोखरामा बालधारा बनाउने सिलसिलामा वि.सं. १९७५ सालमा आएका थिए । पोखराको सौन्दर्यताले उनी लोभिएर पोखरालाई नै कर्मथलो बनाए ।
वैठकलाल कसरी कुन प्रसङ्गमा पोखरा आए यो एक ऐतिहासिक घटना पनि हो । पोखरामा बालधारा आउनु अघि खानेपानीको श्रोत भनेको सेती नदी, फेवाताल, स–साना नदी, कुवाहरु मात्र थिए । सेतीका पानीमा आयोडिनको मात्रा कमी हुँदा अधिकांश मान्छेको घाँटीमा गाँड आएको हुन्थ्यो ।
जनरल बवरशम्सेर जबराको छोरा बालसम्सेरको १४ वर्षको उमेरमा निधन भयो । उनी आफ्ना सुपुत्र बालशम्सेरको स्मृतिमा कुनै पुण्यकार्य गर्न चाहन्थे । यो जानकारी पाएर बबरशम्सेरलाई कसैले सुनाए, पोखरेली जनता पानी पिउन नपाएर काकाकुल छन् । त्यहाँ धारा राख्दा राम्रो हुन्छ ।
जनरल बबरशम्सेरलाई यो सुझाव मन प¥यो । उनले तत्काल केही मान्छेलाई पोखराको वस्तुस्थिति र सम्भाव्यता अध्ययन गर्न पठाए । यस पछि कीर्तिपुरका वैठकलाल श्रेष्ठलाई पोखरामा धारा जडान गर्न पठाए । शुरुमा वैठकलाल रामकृष्णटोलमा डेरा लिइ बसे । खानेपानी प्रयोजनका लागि सराङकोटको मेथलाङको जंगलमा पानी टंकी निर्माण गरियो र त्यहाँबाट धारापानीमा अर्को टंकी बनाई पोखराको बाह्रस्थानमा धारा जडान गर्ने कार्य सम्पन्न भयो । वास्तवमा यो पुण्यकार्यले पोखरालाई आधुनिक एवं सभ्य शहरका रूपमा विकास गरायो । यसर्थ मलाई लाग्छ– आधुनिक पोखराको जनकका रूपमा हामीले बबरशम्सेरको गुणलाई कहिल्यै बिर्सनु हुँदैन । यो धारापानी खानेपानीले भोटीखोला खानेपानी परियोजना सम्पन्न नभईञ्जेल पोखरेलीलाई ठूलो गुण लगाएको थियो । अहिले स्मृतिमा मात्र यो बालधारा जिवित छ, तर जे होस् यो इतिहास हरहालतमा मेटिन दिनहुन्न ।
बालधारा खानेपानी योजना सम्पन्न भएपछि वैठकलाल कीर्तिपुर फर्केनन् । उनी पोखरामा संस्कृति, जात्रापर्वको विकासमा लागे । वैठकलालका बाबु लालबहादुर पनि संस्कृतिपे्रमी थिए वैठकलालको विशेष संगत हरि राजासँग भयो । उनी त्यहाँ तबला सिक्न जान्थे । वैठकलाल हार्मोनियम बजाउन पोख्त थिए । पोखरामा प्रदर्शन हुने गाईजात्रा (तायमचा), लाखेनाँच, बाघजात्रा, गणेशजात्रामा सहभागी हुन्थे । उनले काठमाडौं उपत्यकामा प्रदर्शन गरिने माघेजात्रा पोखरामा पनि मनाउनु पर्छ भने साथीहरुलाई सु¥याए र माघेजात्राको थालनी गरे । यस कार्यका लागि स्व.मोतिलाल रन्जितकारले भरपुर सहयोग गर्दथे । वैठकलाल टोलटोलमा हुने भजन कार्यक्रममा सहभागी हुने गर्दथे । उनको भजन सुनेर श्रोताहरु मख्ख पर्दथे । वैठकलाल कम्मरमा हार्विन, तबला कम्मरमा बाँधेर भजनकिर्तन गर्दै बजारमा निस्कन्थे । नारायणस्थानको रथयात्रा, दही लिलामा भाग लिन्थे । बिहानचुली भजन ४ महिनासम्म लगातार चलाउँथे विभिन्न मठमन्दिरमा । उनको कला, गलाबाट मान्छेहरू प्रभावित भै उनलाई गुरु मान्ने गर्दथे । आजपनि उनी एक सत्पात्रका रूपमा स्थापित भएका छन् ।
भगवान शिवका उपासक वैठकलालको विवाह तेर्सापट्टी कै योगमाया श्रेष्ठसँग भएको थियो । उनका दुई सुपुत्र मथुरालाल र मुक्तिलाल आज यस धर्तीमा छैनन् । सायद उनका सुपुत्रीहरु पनि आज यस धरातलमा छैनन् होला । वैठकलालले पोखरेलीहरुको सेवा गरे । नेपाली संस्कृतिको विकासमा मलजल गरे । यसकारण २०१० सालमा उनको नश्वर देह आज हामी माझ नरहे पनि उनको योगदान सधैंभरी बाँचिरहेका छन् र युगयुग बाँचिरहनेछन् ।