लमजुङ — गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पहलमा लमजुङस्थित पर्यटन तथा उद्योग कार्यालयले विभिन्न सेवा प्रदान गरिरहेको छ।
उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई सहज बनाउन यो कार्यालयले लघु, घरेलु तथा साना उद्योगहरूको दर्ता तथा नवीकरणदेखि बजार अनुगमन र उद्यमशीलता प्रशिक्षणसम्मका सेवाहरू प्रदान गर्दै आएको छ। साथै, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय बाटो, पार्क, हरितपार्क, चौतारी संरक्षण जस्ता पूर्वाधार विकासका योजनाहरू सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।
पर्यटकीय होटल, लज, रेस्टुराँ तथा ट्राभल एजेन्सीहरूको दर्ता तथा नवीकरण सेवा उपलब्ध गराउने यस कार्यालयले व्यवसायीहरूका लागि कानुनी तथा प्रशासनिक परामर्श समेत प्रदान गर्दै आएको छ। स्थानीय उत्पादन प्रवर्द्धन, सिप विकास तथा उद्यमशीलताको विस्तारमा समेत कार्यालयले विशेष ध्यान दिइरहेको छ।
यस कार्यालयबाट दिइने सेवाका लागि व्यवसायी तथा सर्वसाधारणले आवश्यक कागजातहरू संकलन गरी सम्पर्क गर्नसक्ने व्यवस्था मिलाइएको छ। स्थानीय उद्यमशीलता प्रवर्द्धन तथा पर्यटन विकासमा यो कार्यालयले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।