पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं.१४ प्रथम भएको छ । पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा पोखरा १५ लाई ४–० गोल अन्तरले पराजित गर्दै पोखरा १४ प्रथम भएको हो ।

कास्की जिल्ला फुटबल सँघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वटा वडाको सहभागिता थियो । विजेता वडा नं.१४ ले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने, उपविजेता वडा नं.१५ ले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । विजेतालाई नगर प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।
