गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपालमा पछिल्लो समय देखिएका धार्मिक तनाव, सामाजिक असहिष्णुता तथा विभाजनकारी गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय मेलमिलाप कायम राख्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमा संघले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय विविधताले सम्पन्न मुलुक भएकाले यही विविधता नेपालको मौलिक पहिचान र साझा सम्पत्ति भएको उल्लेख गरेको छ। विविधताको संरक्षण गर्दै आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको विज्ञप्तिमा जनाइएको छ।

नेपालका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएका धार्मिक तथा सामाजिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै संघले नागरिक, धार्मिक अगुवा, राजनीतिक दल, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई संयमता अपनाउन आग्रह गरेको छ। घृणा, उत्तेजना तथा भ्रामक सूचना फैलाउने गतिविधिले समाजमा थप विभाजन र अविश्वास सिर्जना गर्न सक्ने भएकाले यस्ता कार्यबाट टाढा रहनुपर्ने संघको भनाइ छ।
एनआरएनए टर्कीका अध्यक्ष डा. विनोद पौडेल ले नेपालको शक्ति नै विविधतामा आधारित एकता भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। “धर्म र संस्कृतिमा रहेका भिन्नताहरू विभाजनका आधार होइनन्, बरु हाम्रो राष्ट्रिय पहिचान र सामाजिक सौहार्दका आधारस्तम्भ हुन्,” उनले भने। उनले संवाद, सहकार्य र आपसी समझदारीमार्फत मात्र समस्या समाधान सम्भव हुने धारणा व्यक्त गरे।

संघका अनुसार कुनै पनि विवाद वा असहमतिको समाधान हिंसा, घृणा वा उत्तेजनाबाट नभई शान्तिपूर्ण संवाद र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ। फरक विचार र आस्थाप्रति सम्मान प्रकट गर्दै सहअस्तित्वको भावना विकास गर्न सके मात्र सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुत बन्ने विश्वास संघले व्यक्त गरेको छ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूले नेपालको शान्ति, स्थिरता र समृद्धिको कामना गरिरहेको उल्लेख गर्दै एनआरएनए टर्कीले राष्ट्रिय हितभन्दा माथि कुनै पनि स्वार्थ हुन नसक्ने स्पष्ट पारेको छ। विदेशमा बसोबास गर्ने नेपालीहरूले नेपाललाई एकता, सहिष्णुता र समावेशिताको उदाहरणका रूपमा हेर्न चाहने भएकाले देशभित्र बढ्दो असहिष्णुता चिन्ताको विषय बनेको संघले जनाएको छ।
“द्वन्द्वभन्दा संवाद, विभाजनभन्दा एकता, घृणाभन्दा मानवता र हिंसाभन्दा शान्तिको मार्ग रोजौँ” भन्ने सन्देश दिँदै सम्पूर्ण नेपालीलाई शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गरेको छ।
उक्त विज्ञप्तिमा अध्यक्ष डा. विनोद पौडेल तथा महासचिव मोहम्मद जावेद अन्सारीको हस्ताक्षर रहेको छ। संघले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको वातावरण सुदृढ बनाउन सबै सरोकारवाला पक्षले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

