पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा वडाध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। खेलकुद विकास समिति वडा नम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार प्रतियोगिताको उद्देश्य पोखरा महानगरका विभिन्न वडाबाट खेलाडी उत्पादन गर्नुका साथै वडा नं. १४ लाई भलिबलको हव बनाउनु हो। खेलकुद गतिविधि प्रवर्द्धन गर्नकै लागि वडामा खेलकुद विकास समिति गठन गरिएको उनले जानकारी दिए।
प्रतियोगिताको मिति र स्थान
प्रतियोगिता यही फागुन २२ देखि २४ गतेसम्म मनोहर युवा क्लबको खेलमैदान, मनकामना टोलमा सञ्चालन हुनेछ। महानगरपालिकाका ३३ वटा वडाबाट टिम दर्ता गर्न सकिनेछ भने टिम दर्ताको अन्तिम मिति फागुन २० तोकिएको छ।
पुरस्कार राशी
खेलकुद विकास समिति पोखरा-१४ का अध्यक्ष शिवशंकर जिसीका अनुसार प्रतियोगिताको विजेताले १ लाख १ हजार ४१४ रुपैयाँ, उपविजेताले ५५ हजार १४ रुपैयाँ, तेस्रो हुने टिमले २५ हजार १४ रुपैयाँ, र सान्त्वना हुने टिमले १५ हजार १४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडीलाई पनि पुरस्कृत गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार १४ रुपैयाँ, जबकि अन्य ४ उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
सहभागी टिम र नियम
प्रतियोगितामा सहभागी हुने टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना सम्म समावेश गर्न पाउने छन्। तर अन्य खेलाडी भने अनिवार्य रूपमा वडा नम्बर १४ का स्थायी बासिन्दा वा मतदाता हुनुपर्नेछ। टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ।
प्रतियोगिता सम्पन्न गर्न १६ लाख ६२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आयोजक पक्षले पोखराका सबै वडालाई पत्र पठाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।