होम पान्डे उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ का एक नेपाली युवाले टर्कीमा काम गर्दाको आफ्नो अनुभव सुनाउँदै विदेश जाने नेपालीहरूलाई सचेत हुन आग्रह गरेका छन्। वैदेशिक रोजगारीको यात्रामा उनले भोगेका संघर्ष, चुनौती र अनुभवले आज उनलाई धेरै नेपाली श्रमिकको भरोसाको पात्र बनाएको छ।

उनका अनुसार उनी पहिलो पटक सन् २०१९ मा एक वर्षे सिजन भिसामा टर्की पुगेका थिए। सुरुवाती दिनहरू सहज थिएनन्। भाषा नजान्ने, नयाँ वातावरणमा घुलमिल हुनुपर्ने र झाडुपोछा लगायतका काम गर्नुपर्ने अवस्थाले उनलाई धेरै कठिनाइको सामना गरायो। त्यतिबेला मासिक ४५० डलर तलबको आश्वासन दिइए पनि हातमा करिब ४०० डलर मात्र प्राप्त भएको उनको भनाइ छ।
सन् २०२१ मा नेपाल फर्किएपछि केही वर्ष घरमै बसेका उनले पुनः विदेश जाने प्रयास गरे। विभिन्न देशमा अवसर खोज्दा अपेक्षाअनुसार सफलता नमिलेपछि अन्ततः पुनः टर्कीलाई नै रोज्नुपरेको उनले बताए। आफूलाई सीप र अनुभव भएको क्षेत्रमा काम गर्न चाहँदा पनि कतिपय अवस्थामा भनेजस्तो काम नपाइने, फोरम्यानको निर्देशनअनुसार फरक काम गर्नुपर्ने तथा श्रमिकका समस्या समयमै सम्बोधन नहुने अवस्था रहेको उनको अनुभव छ।

हाल उनी टर्कीस्थित एक सेलिकिलर निर्माण कम्पनीमा नेपाली अनुवादक (ट्रान्सलेटर) तथा समन्वयकर्ताको रूपमा कार्यरत छन्। कम्पनीमा कार्यरत करिब एक हजार नेपाली श्रमिकका समस्या, गुनासा तथा आवश्यकताहरू व्यवस्थापन गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। नेपाली श्रमिकहरूका अनुसार कम्पनीले तोकेको काम र वास्तविक कामबीच फरक पर्दा उनले व्यवस्थापन पक्षसँग समन्वय गरी धेरै नेपालीलाई आफ्नो सीप र अनुभवअनुसारको काम दिलाउन पहल गरेका छन्। यसबाट धेरै नेपाली श्रमिक लाभान्वित भएका छन् भने कार्य वातावरण समेत सहज बनेको छ।
एक नेपाली श्रमिक भन्छन्, “उहाँ आउनुभन्दा पहिले हाम्रो ट्रान्सलेटर पाकिस्तानी हुनुहुन्थ्यो। भाषा र व्यवहारका कारण धेरै असहजता हुन्थ्यो। कहिलेकाहीँ थर्काउने र असभ्य व्यवहार पनि सहनुपर्थ्यो। तर पाण्डे दाइ आएपछि नेपाली कामदारका समस्या सुन्ने, व्यवस्थापनसँग कुरा गर्ने र समाधान खोज्ने वातावरण बनेको छ।”
श्रमिकहरूका बीच उनी सहयोगी, समन्वयकारी र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित छन्। अधिकांश नेपाली कामदारले उनलाई आत्मीयतापूर्वक “पाण्डे दाइ” भनेर चिन्ने गर्दछन्। नेपाली श्रमिकको हित, अधिकार र सुविधाका विषयमा आवाज उठाउने क्रममा उनले विभिन्न चुनौती र दबाबको समेत सामना गर्नुपरेको बताउँछन्। कतिपय अवस्थामा धम्की र असहज परिस्थितिहरू पनि आए, तर नेपाली श्रमिकको हितका लागि आफूले जिम्मेवारीबाट पछि नहटेेको उनको भनाइ छ।
विदेशमा बस्ने क्रममा बिरामी पर्दा उपचारको समस्या, अस्पतालको खर्च, पारिवारिक जिम्मेवारी तथा मानसिक तनावले थप चुनौती सिर्जना गर्ने गरेको उनको अनुभव छ। त्यसैले श्रमिकका समस्या समाधानका लागि सम्बन्धित निकाय, म्यानपावर कम्पनी तथा रोजगारदाता पक्ष थप जिम्मेवार बन्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
उनले नेपाल सरकारलाई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हितका लागि श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, दूतावास तथा कन्सुलर सेवाको विस्तार, कानुनी रूपमा रकम पठाउने सहज व्यवस्था तथा श्रमिकमैत्री नीतिहरू लागू गर्न आग्रह गरेका छन्।
विदेश जान चाहने नेपालीहरूलाई उनले सम्बन्धित देशको भाषा सिकेर, त्यहाँको कानुन र कामको प्रकृति बुझेर तथा आफूलाई पठाउने म्यानपावर कम्पनीबारे पर्याप्त जानकारी लिएर मात्र विदेश जान सुझाव दिएका छन्।
“भाषा, सीप र सही जानकारी भए विदेशको यात्रा धेरै सहज हुन्छ,” उनले भने, “अरूको लहैलहैमा होइन, राम्रो तयारी र यथार्थ जानकारीका आधारमा निर्णय लिनुपर्छ। विदेशमा सफलता भाग्यले मात्र होइन, धैर्य, मेहनत र सही मार्गदर्शनले पनि दिलाउँछ।”



