✍️ अजय क्षेत्री
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ सावेतमा पवित्र बुद्ध शान्ति स्तुपा निर्माण गरिएको छ । निर्माण भएको उक्त स्तुपाको उद्घाटन प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले गर्नुभएको हो। उद्घाटन समारोहमा उहाँले भगवान बुद्धका वाणी उद्धृत गर्दै जात, धर्म, र कर्मलाई मानवताको साझा मूल्यका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “एउटैमात्र जात छ, त्यो मनुष्य हो। एउटैमात्र धर्म छ, त्यो प्रेम र करुणा हो। एउटैमात्र कर्म छ, त्यो परोपकार हो।”
सांसद गुरुङले यो स्तुपा धार्मिक मात्र नभई धार्मिक पर्यटनको हिसाबले पनि महत्व राख्ने बताउँदै यसले पर्यटनको विकासमा एक नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका क्रममा जग्गादान गर्ने तथा आर्थिक, भौतिक, र नैतिक सहयोग पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्दै प्रदेश सरकारको निरन्तर सहयोग रहने आश्वासन पनि दिनुभयो।
कार्यक्रमको क्रममा गुरु टुल्कु डुप्सेङ्ग रिम्पोछे र यश परियोजनाका परिकल्पनाक धिर बहादुर गुरुङले पुस्तक विमोचन गर्नुभएको थियो। कार्यक्रमको समायोजन सुर्य बहादुर गुरुङले गर्नुभएको थियो भने संचालन स्याम गुरुङले गर्नुभएको थियो।
बुद्ध स्तुपा निर्माणले धार्मिक पर्यटनको विकासमा योगदान पुर्याउने र क्षेत्रीय समृद्धिलाई थप बल दिने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा लामा गुरुको तर्फबाट लक्ष्मन गुरुङले शुभकामना र सुर्य बहादुर गुरुङ स्वागत मन्तब्य राखेका थिए । अन्नपूर्ण-९ का वडाध्यक्ष रमेश गुरुङको सहभागीता रहेको कार्यक्रमको समापन धिरबहादुर गुरुङले गरेका हुन् ।







 
							



 
											










