पोखरा — पोखराका फोटो पत्रकार प्रेम थापा प्रतिष्ठित ‘आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड–२०२६’ बाट सम्मानित हुने भएका छन्। बंगलादेशको राजधानी ढाकामा आयोजना हुने विशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिने जनाइएको छ।

इम्पेरियल होटल इन्टरनेसनलअन्तर्गतको आईएचआई सेलिब्रेसन काउन्सिलद्वारा आगामी मे १ मा आयोजना गरिने कार्यक्रममा थापालाई फोटो पत्रकारिता, घटना दस्तावेजीकरण तथा सृजनात्मक दृश्य कथन क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको हो।

सिन्धुली जिल्लाको भीमस्थान स्थायी घर भएका थापा लामो समयदेखि पोखरामा बसोबास गर्दै फोटो पत्रकारितामा सक्रिय छन्। उनले विभिन्न सञ्चार माध्यमसँगै निजी क्षेत्र, सरकारी निकाय तथा संघसंस्थामा फोटो पत्रकारका रूपमा काम गर्दै आएका छन्।
नेपाली फोटो पत्रकारिता क्षेत्रमा थापाको यो उपलब्धिलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।















