वैदेशिक रोजगारीको सिलसिलामा टर्कीस्थित चेलिक्लर (Çelikler) कम्पनीमा बस्दै आएका नेपाली श्रमिकहरूले एकापसमा टीका-जमरा लगाई शुभकामना आदानप्रदान गर्दै यस वर्षको बडा दसैँ भव्य रूपमा मनाएका छन्।

दसैँको विशेष अवसरमा कम्पनीबाट करिब १०० जना नेपाली कर्मचारीहरूले सामूहिक रूपमा बिदा लिएर दसैँ मनाएका हुन्। परदेशको भूमिमा रहे पनि आफ्नो मौलिक संस्कृति र रीतिरिवाजलाई निरन्तरता दिँदै आयोजित उक्त शुभकामना आदानप्रदान कार्यक्रममा कम्पनी व्यवस्थापन (Management) तर्फका उच्च अधिकारीहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा एचआर म्यानेजर (HR Manager) जुबेड, एकाउन्टेन्ट म्यानेजर एरजर तथा कार्यस्थलका म्यानेजर/फोरमेन सेरखान लगायत कम्पनीका हाकिमहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एचआर म्यानेजर जुबेडले सबै कर्मचारीहरू मिलेर आपसी भाइचारा र सौहार्दपूर्ण सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिँदै दसैँको शुभकामना व्यक्त गर्नुभयो। त्यसैगरी, फोरमेन सेरखानले पनि सम्पूर्ण नेपाली श्रमिकहरूलाई दसैँको शुभकामना दिनुभएको थियो।

उक्त कार्यक्रमको संयोजन नेपाली अनुवादक होम पाण्डे (‘पाण्डे दाइ’) ले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै संयोजक पाण्डेले भन्नुभयो, “हामी संसारको जुनसुकै कुनामा भए पनि आफ्नो रीतिरिवाज, चाडपर्व र संस्कृतिलाई कहिल्यै बिर्सनु हुँदैन। जहाँ भए पनि सबै मिलेर बस्नुपर्छ र सहकार्य गर्नुपर्छ।”

संयोजक होम पाण्डेले कार्यक्रममा उपस्थित सबै नेपाली दाजुभाइ तथा विदेशी पाहुनाहरूलाई दसैँको रातो टीका र जमरा लगाई शुभकामना दिनुभएको थियो। नेपाली परम्परा र भाइचाराको यो दृश्य देखेर सेलिक्लर कम्पनीका हाकिमहरू समेत निकै खुसी र प्रभावित भएका थिए।











