पोखरा (कास्की) । देशको विद्यमान राजनीतिक अस्थिरता, बेथिति र निराशाजनक अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै कास्कीको मादी गाउँपालिका वडा नं. २ (ताङतिङ) का निर्वाचित वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भोजबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । जनप्रतिनिधिको पद त्याग गर्दै उनले वैदेशिक रोजगारीका लागि हङकङको बाटो रोजेका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा विजयी भएका गुरुङले सामाजिक सञ्जालमा एक अत्यन्तै भावुक र मर्मस्पर्शी सन्देश लेख्दै देश छाड्नुको पीडा सार्वजनिक गरेका छन् । उनले नेपालको वर्तमान राजनीतिप्रति कटाक्ष गर्दै लेखेका छन्, “खासमा नेपालको पिलो कहाँनेर छ र भन्या ? जहिल्यै अशान्ति मात्र । स्वर्गजस्तो हाम्रो देश स्वदेश अनि बिरानो भएर विदेश ! कस्तो खेल हो जिन्दगी ?”
उनले शीर्ष नेताहरूको सत्तामोह र आफ्नो बाध्यतालाई तुलना गर्दै गहिरो पीडा पोखेका छन् । कोही नेताहरू पदबाट राजीनामा दिएर सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने खेलमा लागिरहेको तर आफू भने रहरले नभई बाध्यताले परदेशिनु परेको उनको गुनासो छ । चाडपर्वले आँगनमा पाइला टेकिसकेको बेला मन भारी बनाउँदै जीवनको आधाआधी उमेरमा दौँतरी, आफन्त र गाउँले परिवारजनलाई छाडेर हङकङ प्रस्थान गर्नुपर्दाको पीडा उनले शब्दमा उतारेका छन् ।
हङकङ उड्नुअघि भोजबहादुर गुरुङले आफू कमजोर भएर वा भागेर नभई परिस्थितिसँग जुध्न बाध्य भएर परदेशिएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “ऊ रित्तिएर गए, ऊ हराएर गए, ऊ मासिएर गए, ऊ पेलिएर गए… तर ऊ कराउन नसकिएर गए नभनिदिनु है।” साथै, उनले आफ्ना मतदाता, गाउँले र शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गर्दै, “तपाईँहरूले मप्रति लगाएको गुण कहिल्यै बिर्सनेछैन । म ऋणी छु, क्षमा गरिदिनुहोला,” भन्दै भावुक बिदाइ मागेका छन् ।

लामो राजनीतिक इतिहास र जनसेवामा योगदान
नेपाली कांग्रेसको राजनीतिमा भोजबहादुर गुरुङको निकै लामो र संघर्षपूर्ण इतिहास रहेको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएका उनले पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पस तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । लामो समयदेखि नेपाली कांग्रेसमा समर्पित रहेर संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा निर्वाचित भई गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका गुरुङले ताङतिङ र समग्र वडाको विकास निर्माण, पर्यटन प्रवर्द्धन तथा जनसेवामा निकै प्रशंसनीय काम गरेका थिए । स्थानीय स्तरमा भिजेका, मिलनसार र जनताको सुखदुःखमा सधैँ साथ दिने लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका गुरुङ कार्यकाल बाँकी छँदै देशको अवस्थाप्रति निराश भएर हङकङ पलायन हुनुलाई स्थानीयवासीले निकै दुःखद र चिन्ताजनक घटनाका रूपमा लिएका छन् ।
एक इमानदार, समर्पित र काम गर्ने जनप्रतिनिधि तथा गाउँपालिकाका प्रवक्ता नै देशमा बस्ने वातावरण नदेखेर विदेशिनु पर्दा स्थानीय राजनीति, गाउँपालिकाको सूचना प्रवाह र गाउँको विकासमा समेत ठुलो क्षति पुगेको स्थानीय बुद्धिजीवी तथा वडावासीहरूको भनाइ छ ।










