नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको निर्वाचनमा पराजित भएपछि दिपिका भण्डारीले सामाजिक सञ्जालमार्फत सभापति गगन थापालाई सम्बोधन गर्दै भावुक सन्देश सार्वजनिक गर्नुभएको छ। लामो समयदेखि नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएकी भण्डारीले यसपटक आफूले विश्वास र समर्थन गर्दै आएको नेतृत्वलाई मत दिन नपाएको पीडा व्यक्त गर्नुभएको हो। भण्डारीले आफ्नो फेसबुक स्टाटसमा “गगन दाइ, माफ गर्नुहोला” भन्दै सुरु गर्दै १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा सहभागी भएको र त्यसयता पार्टीका हरेक उतारचढावमा सकेको साथ, समर्थन र योगदान गर्दै आएको उल्लेख गर्नुभएको छ। पार्टीका पक्षमा उभिँदै विभिन्न राजनीतिक बहस र प्रतिस्पर्धामा आफ्नो भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले यसपटक भने चाहेर पनि गगन थापालाई मतदान गर्न उपस्थित हुन नसकेको बताउनुभएको छ। उहाँले लेख्नुभएको छ, “मनदेखि नै दुःखी छु। मत दिन नसके पनि मेरो साथ, समर्थन र विश्वास सधैं तपाईंको साथमा रहनेछ।” महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन नसकेपछि मतदान प्रक्रियाबाट बाहिरिनुपरेको अवस्थालाई संकेत गर्दै भण्डारीले व्यक्त गरेको उक्त सन्देशलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले भावनात्मक रूपमा लिएका छन्। धेरैले यसलाई कुनै पद वा अवसरभन्दा माथि उठेर नेतृत्वप्रति देखाएको राजनीतिक निष्ठा र विश्वासको अभिव्यक्तिका रूपमा टिप्पणी गरेका छन्। पराजयको परिणाम स्वीकार्दै पनि आफूले समर्थन गर्दै आएको नेतृत्वप्रति भरोसा नडगमगाएको सन्देश दिएपछि भण्डारीको उक्त स्टाटस कांग्रेस वृत्त तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।








