काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो रामलीला मन्दिर संरक्षण गर्न विश्व हिन्दु परिषद् नेपालले माग गरेको छ ।
परिषद्अन्तर्गतको मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न खोजिएको घटनाको छानबिन गर्न र ऐतिहासिक सम्पदाको संरक्षण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो ।

विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा डेरा इस्माइल खानको रहिम बजार क्षेत्रमा रहेको मन्दिर व्यापारिक प्रयोजनका लागि भत्काउन खोजिएको उल्लेख छ । परिषद्ले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न तथा मन्दिरको जीर्णोद्धार गर्न माग गरेको छ ।

विज्ञप्तिअनुसार स्थानीय हिन्दु समुदाय तथा नागरिक समाजका अभियन्ताहरूले विरोध जनाएपछि स्थानीय प्रशासनले मन्दिर भत्काउने कार्य रोकेको छ । मन्दिर रहेको स्थललाई सिल गरी इभाकुई ट्रस्ट प्रपर्टी बोर्ड (ईटीपीबी) को नियन्त्रणमा राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
परिषद्ले मन्दिरको दीर्घकालीन संरक्षण तथा पुनःस्थापनाका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ । ऐतिहासिक र धार्मिक महत्त्वका सम्पदाको संरक्षणले सांस्कृतिक विरासत जोगाउन सहयोग पुग्ने परिषद्को भनाइ छ ।

विज्ञप्तिमा पाकिस्तानलगायत विभिन्न देशमा हिन्दु मन्दिर तथा धार्मिक सम्पदामा क्षति पुर्याइएका घटनाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । धार्मिक स्थलमा हुने तोडफोडका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने परिषद्को माग छ ।
परिषद्ले रामलीला मन्दिरको संरक्षणका लागि पाकिस्तान सरकार, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था तथा संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षण गराउँदै धार्मिक र सांस्कृतिक सम्पदाको सुरक्षाका लागि पहल गर्न आग्रह गरेको छ ।










