पोखरा, असोज ८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को सभापति पदका लागि नरेन्द्र थापा (नरेन) ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पोखरामा आयोजित कार्यक्रममा थापाले पार्टी संगठनलाई थप गतिशील, एकताबद्ध र भरोसायोग्य बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसको लोकतान्त्रिक परम्परा, संगठन सुदृढीकरण, युवा सहभागिता तथा अग्रज नेताहरूको सम्मानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल तरुण दलमा विभिन्न जिम्मेवारी सम्हाल्दै हाल जिल्ला सचिवको भूमिकामा सक्रिय रहनुभएका थापाले पार्टी संगठन विस्तार, युवालाई राजनीतिमा आकर्षित गर्ने अभियान तथा सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको बताउनुभयो । उहाँले कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग, विश्वास र समर्थनको अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।
यसैबीच, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका रूपमा समेत परिचित थापा पोखरा महानगरपालिका–२६ का वडा अध्यक्ष हुनुहुन्छ । स्थानीय पूर्वाधार विकास, जनसेवा तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिकाका कारण उहाँले वडावासीमाझ सकारात्मक छवि बनाएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन सम्पन्न भइरहेका बेला कास्की क्षेत्र नम्बर १ मा नेतृत्व चयनको प्रक्रिया पनि तीव्र बन्दै गएको छ ।

