पोखरा महानगरपालिका वडा नं. १७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको आयोजना तथा युनाइटेड डिफेन्स लेबोरेटरी (URL) को प्राविधिक सहयोग र समन्वयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बिहान ७ बजेदेखि छोरेपाटन उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा स्थानीय नागरिकले विभिन्न स्वास्थ्य सेवाको लाभ लिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री माननीय भीम कार्कीले स्वास्थ्य सेवाको पहुँच विस्तारमा यस्ता शिविरको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बराल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापति उर्मिल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी वरिष्ठ गिजा तथा दन्त रोग विशेषज्ञ डा. सुरेश भण्डारी, URL का अध्यक्ष ठाकुरप्रसाद पन्त
URL का प्रबन्ध निर्देशक गोविन्दप्रसाद कोइराला तथा URL का प्रशासन निर्देशक पुष्पराज कोइरालाको पनि सहभागिता रहेको थियो।
शिविरमा दन्त तथा गिजा रोग परीक्षण, पाठेघरको मुखको स्वास्थ्य परीक्षण, युरिन प्रयोगशाला परीक्षण, डेंगो प्रशिक्षण लगायत विभिन्न रोगहरूको स्वास्थ्य जाँच गरिएको थियो। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी पोखरा–१७ उपशाखाका सभापति लक्ष्मी अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सचिव चुरामणि बरालले गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा पोखरा–१७ उपशाखा कार्यसमिति सदस्य रीता देवी सुबेदीले स्वागत मन्तव्य राख्दै शिविर आयोजना गर्नुको उद्देश्य तथा महत्वबारे प्रकाश पार्नुभएको थियो।
URL का प्राविधिक प्रमुख बिक्रम थापासहित २२ जना कर्मचारी तथा प्राविधिक टोलीले स्वास्थ्य परीक्षण तथा आवश्यक सेवामा सहजीकरण गरेका थिए। शिविरबाट करीब पाँचसय
नागरिकले विभिन्न स्वास्थ्य परीक्षण तथा निःशुल्क स्वास्थ्य सेवाको सुविधा लिएका थिए।
स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारका लागि महत्वपूर्ण सहयोग पुर्याएको आयोजकले जनाएको छ। समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आयोजना गरिएको यस प्रकारको सेवामूलक कार्यक्रमले स्थानीय नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

