इस्तानबुल, टर्की, भदौ ११ — नेपालका विभिन्न क्षेत्रमा हालै आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले आकस्मिक राहत सहयोग अभियान सञ्चालन गरेको छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रसुवा लगायत बाढी प्रभावित क्षेत्रका पीडित परिवारका लागि तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेसँगै विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूलाई समेत राहत संकलन अभियानमा सक्रिय हुन आह्वान गरेको छ।
यसै सन्दर्भमा एनआरएनए टर्कीले नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगार्थ आर्थिक संकलन अभियान सुरु गरेको जनाएको छ। संघले टर्कीमा रहेका सम्पूर्ण नेपाली समुदाय, सामाजिक संघ–संस्था, व्यवसायी, पेशाकर्मी तथा शुभेच्छुकहरूलाई मानवीय सेवाको भावनासहित सहयोग गर्न अपिल गरेको छ।
संघद्वारा जारी अपिलमा भनिएको छ, “तपाईंको सानो सहयोगले पनि विपत्तिमा परेका परिवारका लागि ठूलो राहत र आशाको आधार बन्न सक्छ। एकजुट बनौं, सहयोग गरौं र पीडित परिवारमा आशा जगाऔं।”
सहयोग रकम संकलनका लागि संघले आफ्नो आधिकारिक बैंक खाताको विवरण सार्वजनिक गरेको छ। प्राप्त सहयोग रकम पारदर्शी रूपमा राहत तथा पुनर्स्थापनाका कार्यमा प्रयोग गरिने जनाइएको छ।

एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले प्राकृतिक विपत्तिको यस कठिन घडीमा विदेशमा रहेका नेपालीहरू एकताबद्ध भएर मातृभूमिका पीडित नागरिकको साथमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन्।
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूमा राहत, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन एनआरएनए विश्वव्यापी रूपमा परिचालन भएको जनाएको छ।

