✍️ सागर गिरी
पोखरा — गण्डकी प्रदेशमा आयोजित विशेष सम्मेलनमा “आइकन अफ गण्डकी २०२४” बाट सरस्वती पुरी सम्मानित भएकी छिन्। स्वास्थ्य क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि समर्पित पुरीले कोभिड-१९ महामारीको कठिन समयमा पनि अभियान सञ्चालन गर्दै धेरैको ज्यान बचाउन अहोरात्र खटिएकी थिइन्।
देशभर नर्सिङ क्षेत्रमा आमूल परिवर्तन ल्याउन अग्रसर सरस्वती पुरीले नर्सहरूको हकहितका लागि सधैं आवाज उठाउँदै आएकी छन्। उनले विरामीहरूको सेवा गर्दा मन आनन्दित हुने अनुभव व्यक्त गरिन्। “आफ्नै देशमा स्वास्थ्यकर्मी भएर जनताको सेवा गर्न पाउँदा गर्व महसुस हुन्छ,” उनले भनिन्।
कार्यक्रमका आयोजक समितिका अनुसार स्वास्थ क्षेत्रमा पुरीले पुर्याएको अतुलनीय योगदानकै कारण यो सम्मानका लागि योग्य मानिएको हो। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले सम्मान पत्र र अवार्ड हस्तान्तरण गरेका थिए।
सरस्वती पुरी पोखरा महानगर युवा परिषद्की सदस्य तथा सामाजिक अभियन्ता पनि हुन्। उनले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानले धेरैलाई प्रेरणा दिएको आयोजक समितिले जनाएको छ।