✍️ अजय क्षेत्री
आन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी कार्यक्रमका साथ कर सप्ताह मनाउन सुरु गरेको छ। आज पहिलो दिन पोखरा सभागृहदेखि आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी कार्यक्रम गरेर सप्ताहको सुरुवात गरियो। सभागृहबाट सुरु भएको प्रभातफेरी आन्तरिक राजस्व कार्यालयको प्रांगणमा पुगेर कार्यक्रमसहित सम्पन्न भयो।
प्रभातफेरीमा सहभागीहरुले कर सम्बन्धी विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए। प्रभातफेरी समापन गर्दै प्रमुख कर अधिकृत शिव शर्माले कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
आज शनिबार भएकाले भोलिदेखि कार्यालय सञ्चालनमा आएपछि पहिलो करदातालाई फूलमालाले सम्मान गर्ने कार्यक्रम तय गरिएको छ। साथै, करदाता शिक्षा, जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनबारे जानकारी दिने योजना समेत रहेको छ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ७ मंसिरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने योजना रहेको प्रमुख कर अधिकृत शर्माले जानकारी दिए।
प्रभातफेरीमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स कास्की लगायतका व्यवसायी संघ संस्थाहरु व्यानरसहित सहभागी थिए। कर सप्ताहका अन्य कार्यक्रमहरु पनि विभिन्न सञ्चार माध्यम र सम्बन्धित संस्थाहरुसँग सहकार्य गरी आयोजना गरिनेछ।