✍️सुजन आचार्य (बागलुङ)
गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।
सातौँ बागलुङ महोत्सवमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार गलकोटले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
गलकोट नगरपालिकाले ताराखोलामाथि पहिलो सेट २५–२०, दोस्रो सेट २५–२२ र तेस्रो सेट समान २५–२२ ले जित निकालेको थियो । यस्तै शुक्रबार नै भएको तेस्रो स्थानको खेलमा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यु काठेखोला गाउँपालिका–५ लाई ३–१ को सेटमा पराजित गरि तेस्रो भएको छ ।
ढोरपाटनले पहिलो सेट २८–२६ र दोस्रो सेट २५–१८ ले जित निकालेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको ढोरपाटनले चौथो सेटमा २५–१२ को सहज जित निकाल्दै तेस्रो स्थान पक्का गरेको हो ।
प्रतियोगिताको विजेता गलकोट नगरपालिकाले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता ताराखोला गाउँपालिकाले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । तेस्रो भएको ढोरपाटन नगरपालिकाले ५१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना भएको होटल माउन्टेन भ्युले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।