पोखरा – ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित भर्गो एग्रो इन्डस्ट्रिज प्रा. लि.ले पोखरामा आफ्नो पहिलो चामल बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। बुधबार एक विशेष समारोहबीच पोखरा महानगरपालिका लेखा समिति संयोजक झपट बहादुर रानाभाटले बिक्री केन्द्रको उद्घाटन गरे।
स्थानीय कृषि उपजको आधुनिकीकरण, प्रशोधन र बजारिकरणमा जोड दिँदै भर्गो एग्रो इन्डस्ट्रिज घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडको संयुक्त लगानीमा स्थापना गरिएको हो। कम्पनीले नवलपुरको गैडाकोट–१४, अमरापुरीमा जापानी प्रविधिबाट ‘मनास्लु’ ब्रान्डअन्तर्गत चामल उत्पादन गर्दै आएको छ।
कम्पनीका व्यवस्थापक सुरज दंगालले कृषिमा आधारित उद्यमशीलता राष्ट्र समृद्धिको आधार भएको बताए। उनले भने, “हामी किसान र उपभोक्ताबीच पुलको काम गर्छौं। कृषकलाई उचित मूल्य र उपभोक्तालाई गुणस्तरीय चामल सहुलियतमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।”
पोखरा शाखा प्रमुख राजु रिजालले बिक्री मात्र होइन, किसानसँगको प्रत्यक्ष सहकार्यमार्फत उनीहरूको सीप विकास र बजार पहुँचमा समेत कम्पनी सक्रिय रहेको जानकारी दिए।
बिक्री केन्द्रमार्फत सुरुवाती चरणमा तीन प्रकारका अर्गानिक तथा प्रिमियम चामल उपलब्ध छन्:कतर्नी चामल: रु. २,०५० प्रति बोरा जिरा मसिनो चामल: रु. १,८५० प्रति बोरा सोना मन्सुली चामल: रु. १,६५० प्रति बोरा
कम्पनीले स्वदेशी उत्पादनको प्रवर्द्धनसाथै स्थानीय कृषकहरूको जीवनस्तर उकास्न योगदान पुर्याउने लक्ष्य राखेको छ।


















