चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२७ मा रहेको जानकी माविका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गर्नुभएको छ ।
शुक्रबार विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रम अन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा,समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न प्रमुख दाहालसहितको टोली त्यहाँ पुगेको हो ।
भरतपुर महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कार्यक्रममा यस आर्थिक वर्षमा केही नमुना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवम् संवाद गरिने छ ।
कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।विद्यालयको सुधारका लागि प्रयाप्त मात्रमा भौतिक पूर्वाधारहरु निर्माण भइसकेकोले आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरु अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरुलाई आफ्ना जिज्ञासाहरु सहज रुपमा महानगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो ।
शिक्षा क्षेत्रमा ठुलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आईरहेको थियो ।
जनकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीहरुले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको बताएका थिए ।महानगरपालिकाले विद्यालयमा गर्दै आइरहेको बजेट विनियोजनमा सन्तुष्ट देखिएका छन् ।
विद्यालयमा देखिएका केही समस्यालाई तत्काल नै समधान गर्ने गरी विद्यालय व्यवस्थापन समितिसँग छलफल पनि गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।
यसले विद्यार्थीको नेतृत्व विकासमा ठुलो सहयोग पुराउने भएकाले भरतपुरका विद्यालयमा प्रमुख, उपप्रमुखहरु पुग्ने उहाँको भनाई थियो ।
कार्यक्रम महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।