✍️ सागर गिरी
नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा २४औं माछापुच्छ्रे फुलकन्ट्राक कराँते तथा छैटौं क्योकुशिन कान कराँते प्रतियोगिता पोखराको ढुंगेसाघु मेलामा सम्पन्न हुने भएको छ। प्रतियोगिता पुष २९ गते पोखरा रंगशालामा र माघ १ गते मेलामा आयोजना गरिने संघका अध्यक्ष लक्ष्मण कुवरले जानकारी दिएका छन्।
देशभरबाट करिब ३०० खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा महिला र पुरुषतर्फ ३० केजीदेखि खुल्ला तौल समूहसम्म प्रतिस्पर्धा गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने संघका सचिव निर्मल बहादुर केसीले जानकारी दिए। साथै, उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने छ।
८ लाख रुपैयाँको लागतमा सम्पन्न हुने यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। अध्यक्ष कुवरका अनुसार प्रतियोगिताले कराँते खेलप्रतिको रुचि बढाउँदै खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास गरिएको छ।