पोखरा – बराल ग्रुपले पोखरामा ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ। शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदीमा सुरु भएको यो कार्निभलमा ग्राहकको उत्साहजनक सहभागिता रहेको बताइएको छ।
कार्निभल माघ ७ गतेसम्म संचालन हुनेछ। यस बृहत अटोमोबाइल प्रदर्शनीमा सहभागीहरूले विभिन्न ब्रान्डका सवारी साधन अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गर्ने अवसर पाइरहेका छन्। उद्घाटनको दिनमै ५० भन्दा धेरैले टेस्ट ड्राइभ गरेको बराल ग्रुपका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए।
बराल ग्रुपअन्तर्गत ‘एलिट मोटर्स प्रालि’ ले निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डका सवारी साधन बिक्री-वितरण गरिरहेको छ भने ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका गाडी बजारमा उपलब्ध गराउँदै आएको छ।
शारदा ग्रुप र गोल्छा ग्रुपजस्ता नेपाली अटोमोबाइल बजारका अग्रणी नामहरूको सहकार्यमा आयोजित यस कार्निभलमा ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलसहित लिपमोटर र सिट्रोन ई-सी३ जस्ता विद्युतीय सवारी साधन प्रदर्शनीमा राखिएका छन्।
कार्निभलमा सहभागीले सवारी साधनको अवलोकन र टेस्ट ड्राइभ गर्नुका साथै विभिन्न आकर्षक छुट र अफरको फाइदा लिन सक्नेछन्।
बराल ग्रुपले पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोनलगायतका ब्रान्डका सवारी साधन बिक्री-वितरण गर्दै आएको छ।