पोखरा- अष्ट्रेलियामा बसेर शारीरिक सुगठन मार्फत नेपाललाई चिनाएका सुजन शिल्पकार पोखरामा सम्मानित भएका छन् ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरु जितेर देशलाई चिनाउन सफल भएको भन्दै उनलाई आइतबार नेवाः मिसा पुचः कास्कीले ११ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो । पोखरा न्युरोड घर भई हाल सिड्नीमा बस्दै आएका सुजनलाई नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगीता बज्राचार्यले फेटा, ट्रफि र पुष्पगुच्छाले सम्मान गरेका हुन् ।
१६ बर्षको उमेर देखि शारीरिक सुगठनमा लागेका सुजनले निजि खर्चमा सन् २०१९ यता विश्वका विभिन्न देशमा आयोजित नेचुरल बडिविल्डङ तर्फ नेपालको प्रतिनिधित्व गर्दै ९० भन्दा बढि गोल्ड मेडल जितिसकेका छन् । उनले अष्ट्रेलियाको प्रदेशस्तरको ताज्मानिया च्याम्पियन देखि नेचुरल विधा तर्फ विश्व च्याम्पियन नै बनेका छन् ।
अहिले उनि २०२५ मा अमेरिकाको लस एन्जल्समा हुने नेचुरल ओलाम्पियामा सहभागि हुन तयारी गरिरहेका छन् । बडिबिल्डिङ्गमा डब्लुएफएफ प्रो कार्ड प्राप्त प्रशिक्षक रहेका उनि हाल अष्ट्रेलियामा पर्सनल फिटनेस ट्रेनरको रुपमा कार्यरत छन् । घरविदामा पोखरा आएका सुजनलाई यसै साता नेपालका विभिन्न संघसंस्थाले सम्मान समेत गर्दैछ ।