Tuesday, May 6, 2025

आजको मिति: २०८२ बैशाख २३ ,मंगलवार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

उदीयमान खेलाडी अवार्डका लागि बादल, जितबहादुर र रचनाबीच कडा प्रतिस्पर्धा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ नजिकिँदै गर्दा उदीयमान खेलाडीको विधामा मनोनयनमा परेका तीन खेलाडी—बादल कार्की, जितबहादुर सार्की र रचना चौधरीबीच कडा प्रतिस्पर्धा देखिएको छ। यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा सम्पन्न हुने अवार्ड समारोहका लागि चार विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको हो।


एथलेटिक्सका बादल कार्की, भलिबलका जितबहादुर सार्की र क्रिकेटकी रचना चौधरीले आ–आफ्नो खेलमार्फत उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी अवार्डका लागि दाबी प्रस्तुत गरेका छन्।


एथलेटिक्सका चम्किँदा नक्षत्र: बादल कार्की
बागलुङका १८ वर्षीय बादल कार्कीले २०८१ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रदर्शन गरे। उनले यु–२० साउथ एसियन क्रस कन्ट्री टिम इभेन्टमा काश्य पदक जिते भने भारतमा भएको साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा १५ सय र ३ हजार मिटर दौडमा चौथो स्थान हासिल गरे। युएईमा आयोजित एसियन यु–२० च्याम्पियनसिपमा समेत सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका उनले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण पदक जितेका थिए।


भलिबलमा उदाउँदै: जितबहादुर सार्की
स्याङ्जाका जितबहादुर सार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबल खेलमा झकझक्याउने प्रदर्शन गरे। प्रथम सहाना प्रधान स्मृति यू–१९ प्रतियोगितामा ‘बेष्ट लिविरो’ घोषित भई श्रीलंकामा आयोजित काभा यु–२० च्याम्पियनसिपमा नेपाल प्रतिनिधित्व गर्दै उपविजेता बने। गण्डकी प्रदेशको सिनियर टोलीबाट डेब्यु गर्दै उनले राष्ट्रिय टोलीमा समेत स्थान बनाएका छन्।


क्रिकेटमा चम्किँदै: रचना चौधरी
सुदूरपश्चिममा जन्मिएकी र पोखरामा हुर्केकी रचना चौधरीले विद्यालयस्तरदेखि नै क्रिकेटमा निरन्तरता दिँदै यू–१९ विश्वकप, एसिया कप र नेपाली राष्ट्रिय टोलीसम्मको यात्रा तय गरिन्। यू–१९ छनोट प्रतियोगितामा सर्वाधिक ११ विकेट लिँदै चर्चा बटुलेकी उनले हालसम्म सिनियर टोलीबाट ९ खेल खेलिसकेकी छन्।


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्ष खेलाडी महिला, पुरुष, उत्कृष्ट प्रशिक्षक, खेलकुद संघ/संस्था, खेल पत्रकार, लाइफटाइम अचिभमेन्ट र उदीयमान खेलाडी गरी सात विधामा अवार्ड प्रदान गर्दै आएको छ। उदीयमान खेलाडीलाई नगद ३५ हजारसहित सम्मान गरिने जनाइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist