पोखरा — नेपाल पुलिस क्लबलाई पराजित गर्दै इरानी टोलीले पोखरामा सम्पन्न प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको थियो। इरानी टोलीले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो।
फाइनल खेलमा इरानी टोलीले पहिलो सेट २५–१८ ले जितेको थियो भने दोस्रो सेट २४–२६ ले गुमाएको थियो। तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–१७ को जीतसाथ इरानी टोलीले पुनरागमन गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। विजेता टोलीले नगद ४ लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो।
तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्यो। आर्मीले पहिलो दुई सेट २९–२७ र २५–२१ ले जितेको थियो भने तेस्रो सेट २२–२५ ले गुमाएको थियो। चौथो सेट २५–२३ ले जित्दै आर्मी तेस्रो भयो। तेस्रो स्थान प्राप्त टोलीले १ लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गर्यो।
प्रतियोगिता गत १८ गतेदेखि सुरु भएको हो, जसमा २ विदेशी र ४ नेपाली गरी जम्मा ६ टोलीको सहभागिता रहेको थियो।