पोखरा— नेपाल विद्यार्थी संघ (ने.वि.संघ) पोखरा महानगरपालिका कार्यसमितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्ति सम्बन्धी गम्भीर गुनासो उठाउँदै तत्काल सम्बोधनको माग गरेको छ।
शैक्षिक सत्र २०८२ मा भर्ना भएका विद्यार्थीहरूले भोगिरहेको आर्थिक भारप्रति ध्यानाकर्षण गर्दै ने.वि.संघले तीनवटा मुख्य माग अगाडि सारेको छ। पहिलो, महानगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाले १० प्रतिशत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने माग गरिएको छ। साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीको विवरण सार्वजनिक गर्न पनि अनुरोध गरिएको छ।
दोस्रो, एक पटक भर्ना भइसकेपछि अर्को सत्रमा दोहोरिएको भर्ना शुल्क लिने प्रचलन बन्द गर्नुपर्ने र अतिरिक्त क्रियाकलापको नाममा अनावश्यक शुल्क नलिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ।
तेस्रो, संविधान तथा सम्बन्धित कानुन अनुसार माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था लागू गर्न जोड दिइएको छ। सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूबाट लिने भर्ना तथा मासिक शुल्क तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा ने.वि.संघले चेतावनी दिँदै भनेको छ, “यदि हाम्रा मागहरू यथाशिघ्र सम्बोधन भएनन् भने पोखरा महानगरभित्रका विद्यालयहरूमा विभिन्न शैक्षिक आन्दोलन सञ्चालन गरिनेछ र आवश्यक परे विद्यालय बन्द समेत गरिनेछ। त्यसपछिको सम्पूर्ण जिम्मेवारी पोखरा महानगरपालिका शिक्षा महाशाखाको हुनेछ।”
ने.वि.संघ पोखरा महानगरपालिका अध्यक्ष विपिन पौडेलद्वारा जारी उक्त विज्ञप्तिमा विद्यार्थी हितको संरक्षणका लागि संघ सदैव प्रतिबद्ध रहेको बताइएको छ।