✍️सफल सुवेदी
पोखरामा आयोजित भव्य सौन्दर्य प्रतियोगिता ‘मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टको आयोजना तथा व्यवस्थापनमा सम्पन्न यो प्रतियोगिताले पोखराका युवतीहरूमा लुकेका प्रतिभा, आत्मविश्वास र सौन्दर्यलाई उजागर गर्ने उद्देश्य बोकेको थियो।

प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए। भ्युअर्स च्वाइस अवार्ड भने रोजी बस्नेतले हात पारिन्।
कार्यक्रमका प्रमुख अतिथि दर्शन लामाले आयोजक संस्था हेभेनली इभेन्ट म्यानेजमेन्टलाई प्रतिभाशाली युवतीहरूलाई यस्तो प्लेटफर्म उपलब्ध गराएकोमा धन्यवाद दिँदै, यस्ता प्रतियोगिताले महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे।

प्रतियोगिताको निर्णायक मण्डलमा नवदीप इङ्ग्लिस बोर्डिङ स्कुलकी संस्थापक कौशल्या गुरुङ, मिडिया व्यक्तित्व आशिष पुरी, नर्स तथा सामाजिक अभियन्ता बिजुल श्रेष्ठ र एन.टि.एच.एम.सी कलेजका प्रिन्सिपल प्रकाश रेग्मी रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको आत्मविश्वास, प्रस्तुति शैली र प्रतिभाको सूक्ष्म मूल्याङ्कन गरेका थिए।
सञ्चालक सफल सुवेदीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा अझ नयाँ र सिर्जनात्मक कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाए।

‘मिस कास्की नेपाल २०२५’ प्रतियोगिता पोखराका युवतीहरूका लागि आफ्नो क्षमता प्रमाणित गर्ने र भविष्यमा विभिन्न क्षेत्रहरूमा आफूलाई स्थापित गर्ने अवसरको ढोका बनेको छ।