काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक मूल्यांकनअनुसार उनीहरूलाई ५ देखि ६ प्रतिशत जलन भएको छ। अनुहारमा जलनका कारण स्वासनली तथा फोक्सोमा असर पर्नसक्ने आशंका गरिएको छ। चिकित्सकहरूको टोलीले उच्च निगरानीमा राखेर सघन उपचार कक्ष (ICU) मा उपचार गरिरहेको छ।
बर्न अस्पतालका चिकित्सकका अनुसार पौडेल र आचार्यको उपचारमा विभिन्न विशेषज्ञ चिकित्सक र नर्सिङ टोली संलग्न छन्। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप जानकारी अस्पताल प्रशासनले समय समयमा दिने जनाएको छ।