✍️ अजय क्षेत्री
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ। विभिन्न विद्यार्थी संगठनहरू तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहने विद्यार्थीहरू आन्तरिक तयारीमा जुटिरहेका छन्।
यसपटक भने विवादरहित रूपमा चुनावी माहोल अघि बढिरहेको देखिन्छ। पोखराको जनप्रिय क्याम्पसमा पनि स्ववियु निर्वाचनका लागि तयारी तीव्र भइरहेको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट कोषाध्यक्ष पदका लागि अनिसा खडका (अनु) चुनावी मैदानमा छिन
त्यसैगरी, अनेरास्ववियुका तर्फबाट सफल तिवारी तथा एकीकृत समाजवादी निकट अखिल (क्रान्तिकारी) बाट सागर थापा प्रतिस्पर्धामा छन्।
को हुन् अनिसा खडका (अनु)?
अनिसा खडका (अनु) को जन्म २०५७ साल साउन २८ गते पर्वत जिल्लाको बिहादी गाउँपालिका–३, बाच्छाँमा भएको हो।
उनले बाच्छाँस्थित जनकल्याण माध्यमिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरेकी थिइन्। कक्षा ११ अध्ययन गर्न उनी पोखरा आइन्। २०७३ सालमा जनप्रिय क्याम्पसमा भर्ना भएकी अनिसा हाल बिजनेस स्टडिज (MBM/MBS) मा पहिलो सेमेस्टरमा अध्ययनरत छिन्।
विद्यालय तहदेखि नै उनी रेडक्रस, बाल क्लब तथा विभिन्न संघसंस्थामा सक्रिय रूपमा संलग्न रहँदै आएकी छिन्।
२ वर्षसम्म पोखरा-पर्वत सम्पर्क समितिको कोषाध्यक्ष
२०७४ मा जनप्रिय क्याम्पसको नेविसंघ कोषाध्यक्ष
बिहादी गाउँपालिका नेपाल विद्यार्थी संघको सचिव
नेविसंघ पर्वतको सहसचिव
हाल नेविसंघ जनप्रिय क्याम्पस कमिटीको उपसभापति
स्ववियु निर्वाचन पटक–पटक भए पनि विद्यार्थीका समस्या भने जस्ताको तस्तै रहेको भन्दै अनिसाले अब उपयुक्त नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन्।
“राजनीति जोगाउनका लागि मात्र विद्यार्थी बनेका होइनौं। विद्यार्थी राजनीतिज्ञहरूका लागि सिँढी बन्नु हुँदैन। स्ववियुमा नियमित रूपमा अध्ययनरत वास्तविक विद्यार्थीहरूले नै अवसर पाउनुपर्छ,” उनले बताइन्।
उनका अनुसार त्रिभुवन विश्वविद्यालयमा देखिएको चरम लापरबाही तथा विद्यार्थीमाथि भइरहेको खेलबाड अन्त्य गर्दै दीर्घकालीन सुधार गर्न आफू चुनावी मैदानमा उत्रिएको छिन्।