पोखराको फेवाताल किनारमा फागु पूर्णिमा (होली) को अवसरमा गत वर्षझैँ यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ। प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा फागुन २९ गते बिहीबार बाराहीघाट चौरमा आयोजना हुने कार्यक्रममा संगीत, मनोरञ्जन र विभिन्न आकर्षण समावेश गरिनेछ।
होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निःशुल्क रहने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए। कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, र डिजे साउडेको प्रस्तुति रहनेछ। माहोललाई थप ऊर्जा दिने स्टेज हाइपरको भूमिकामा विवेक गुरुङ (बकबक) रहनेछन्।
कार्यक्रमको मुख्य आकर्षण हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्ल्यास, खानाका स्टलहरू, र सांगीतिक प्रस्तुति रहनेछ। साथै, होलीको मज्जा बढाउन रंगीन पानीले भरिएको ट्यांकरबाट सहभागीहरूलाई पानी छ्याप्ने योजना पनि आयोजकले बनाएको छ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने कार्यक्रमको सञ्चालक एकिन गुरुङ रहनेछन्। यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेको छ।
प्रचार नेपालले यसअघि पनि पोखरामा थुप्रै सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यसै वर्षको प्रणय दिवसमा ‘द एज ब्यान्ड’ र ‘स्वर’ को कन्सर्ट आयोजना गरिएको थियो, जसमा करिब ५ हजार दर्शक सहभागी थिए। त्यस्तै, गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्ट तथा पुस महिनामा २६औं सडक महोत्सवमा ‘द एण्ड गेम’ कन्सर्टको व्यवस्थापन पनि प्रचार नेपालले गरेको थियो।