Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा-२१ रामदी,एकहातेमा रहेको १६ औं शताब्दीमा स्थापित शक्तिपीठकाे एक चिनारी

Share on facebook
Share on twitter
Share on linkedin

एकहाते स्थित देवी मन्दिर एक चिनारी
पृष्टभूमि:साविक कृस्ती नाच्ने चौर गा.वि.स.वडा नं.४ रामदी, एकहाते हाल पोखरा महानगरपालिका २१ एकहातेमा अवस्थित देवी मन्दिर १६ औं शताब्दीमा स्थापित शक्तिपीठ हो। नेपालको शाह वंशको पुर्ख्यौली थलो नुवाकोट राज्यका प्रथम शाशक जैत खानका वंशज मतीखानको पालामा मट्टीखान कालिका कोट स्थापना भएपछि यस ठाउँमा बस्ने ७०० घर कुरियाबाट कालिका भगवतीको पूजा आराधना गरिँदै आएकाले एकहातेका केही घर पूजाआजामा छुट्न पुगेका कारण यसै स्थानमा देवी मन्दिरका साथै द्यौराली स्थापना गरी पूजाआजा गर्दैआएको लामो इतिहास छ। तत्कालीन समयमा सीमित घरधुरीबाट पूजा संचालन भएको मन्दिरमा अहिले शारदीय नवरात्र र चैत्र नवरात्रको समयमा भक्तजनको बाक्लो उपस्थिति रहेको देखिन्छ।यस मन्दिरमा भाकल गर्ने र देवीको अनुकम्पाले मनोकामना सिद्ध हुने जनविश्वास रहिआएको छ।


मन्दिरको भौतिक अवस्था:


तत्कालीन समयमा स्थानीय बासिन्दाले ढुङ्गा र माटोले मन्दिर निर्माण गरी खरले छाएको र पछि सामान्य जस्तापाताले छाएको मन्दिर पोखरा महानगरपालिकाबाट ३कि.मि.को दुरीमा दक्षिण पश्चिम एकहातेको मध्य विन्दुमा रहेको छ। आर्थिक अभावका कारणले समय समयमा हुने दैवीप्रकोपका कारण छिन्नभिन्न समेत भएको देखिन्छ। मन्दिरको चारैतिर सामान्य पर्खाल छ भने देवीको शीलामा कुदेर बनाइएको मूर्ति छ। निशानहरू पनि सहजै देख्न सकिन्छ। देवी मन्दिरसम्म पुग्न सिंढी बनाइएको छ जुन पूर्वपश्चिम हुलाकी मार्गबाट बायाँतर्फ रहेको छ। मन्दिरको प्रवेशद्वार पश्चिमतिर रहेको छ जुन मट्टीखान कालिकोटको सम्मुख छ। जीर्ण अवस्थामा रहेकोले जीर्णोद्धारको पर्खाइमा मन्दिर छ।


आर्थिक अवस्था:


सामान्य अवस्थाको यस मन्दिरको आर्थिक अवस्था निकै नाजुक रहेको छ। वर्षका दुई नवरात्रको समयमा भक्तजनको धूप,अक्षता र भेटी सङ्कलनबाट पूजा संचालन गरिएको पाइन्छ। अन्य कुनै आयस्रोत नभएकाले मन्दिरको कुनै कोष नरहेको कुरा मन्दिर व्यवस्थापन समितिका सदस्यहरू बताउँछन्। आर्थिक अवस्था निकै नाजुक रहनुले मन्दिरको मर्मत सम्भार गर्न नसकिएको, यही अवस्था रहिरहेमा भग्नावशेषमा परिणत नहोला भन्न सकिन्न। मन्दिरको संरक्षणका निम्ति वि.सं.२०७९सालमा मन्दिर व्यवस्थापन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको र यसको जीर्णोद्धारको निम्ति वडा कार्यालयबाट रू.३०००००(अक्षरुपी तीन लाख रुपैयाँ) बजेट विनियोजन भएको छ भने स्थानीय महामानव श्रद्धालु भक्तजनहरूको दान दातव्य बाट अर्थ संकलन हुने क्रममा छ।


मन्दिरको पूजा व्यवस्था:


झण्डै ४शताब्दीको ऐतिहासिक, पुरातात्विक महत्वको स्थान देवी मन्दिर वर्तमान समयसम्म भक्तजनको धूप,अक्षता र भेटीबाट पूजा हुंदै आइरहेको मा पूजा संचालनार्थ समिति गठन गरी यसमा सहजीकरण गरिएको पाइन्छ। स्थानीय गुरुङ जातिका कुमारबाट (१८वर्ष मुनि) पूजा गरिएको पाइन्छ। वर्षका दुई दसैंमा  (बडा दसैं र चैते दसैँ) मनोकामना सिद्ध होस् भनी भाकल गर्ने पूजा गर्ने चलन रहेको छ। विशेष गरी बडा दसैंको पूर्णिमासम्म पूजा गर्ने चलन यहाँ रहेको छ।


धार्मिक पर्यटकीय स्थल:


एकहाते स्थित देवी मन्दिर धार्मिक पर्यटकीय सम्भावना बोकेको उत्कृष्ट स्थान हो। पोखरा उपत्यका नजिकै रहेको मन्दिर वातावरणीय दृष्टिकोणले अत्यन्तै सुन्दर, शान्त र मनमोहक देखिन्छ। मन्दिरको प्रवेशद्वारबाट भित्र पस्नासाथ ‘मनमा शान्ति र मुहारमा कान्ति छाउँछ ‘त्यसैमा  पूर्वमा क्षेत्रीय विमानस्थल,उत्तर दिशामा पंक्तिबद्ध हिमश्रृङ्खला साथै सुन्दर पर्यटकीय नगरी पोखरा, बायाँतर्फ विश्व शान्ति स्तूप,भूमेश्वर महादेव, (पुम्दीकोट) सिद्धार्थ राजमार्ग,सरांकोट दक्षिणमा कैलाश मानसरोवरको स्वरूप शिवढुंगा ,पश्चिममा मट्टीखान र रामकोटको मनोरम दृश्य ,ैयसलाई नजिकैबाट नियाल्न मन्दिरको प्राङ्गणमा अन्यत्रबाट मानिसहरू आउने गर्दछन्। यसको प्रचारप्रसारको आवश्यकता रहेको देखिन्छ।


नामकरण:


किंवदन्ती अनुसार प्राचीन कालमा यो ठाउँ जलमग्न भएको डुबेर देवी मन्दिर रहेको ठाउँ एक हात मात्र बाँकी रहेको ले त्यसलाई आधार मानेर यस ठाउँको नाम एकहाते रहेको कुरा आफूले सुन्दै आएको कुरा जेष्ठ नागरिकहरु बताउँनुहुन्छ।यस क्षेत्रको भौगोलिक अवस्थालाई हेर्दा मन्दिरको चारैतिरको भू बनोट एउटै प्रकृतिको रहेको र पहिरो जाँदा मन्दिरसम्म पुग्न एक हात मात्र बाँकी रहेको हुनसक्ने वा यस ठाउँमा पहिले वस्ती विकास नभएको हातले अपाङ्ग (एक हात मात्र भएको)मानिस आएर बसोबास गरेका कारण एकहाते नाम हुन सक्ने प्रबल सम्भावना छ।


अन्त्यमा सादर आमन्त्रण:


समादरणीय भक्तवत्सल बुबा, दाजुभाइ तथा भक्तिमती आमा , दिदीबहिनीहरु ब्रह्माण्ड अधिष्ठात्री देवी भगवतीका अनुकम्पाले महामानव जीवन प्राप्त भएको छ। जीवको चौरासी लाख जुनीमा केवल मानव शरीरबाट मात्र मोक्षको कल्पना गर्न सकिने कुरा हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ। हाम्रो पूर्व जन्मको महान पुण्यको प्रभावले मानिसको जीवनमा आएका छौं यस्तो परम् शौभाग्य मिलेको तव मात्र सफल हुन्छ जव हामी आफ्नो धर्म संस्कृतिको संरक्षण र सम्बर्धनमा लाग्दछौं । धार्मिक कार्यमा संलग्न रहेका बेला आनन्दको अनुभूति हुन्छ।हामी तीर्थ, व्रत, दान, पुण्य, धर्मकर्म आदि गरेर आफ्ना सन्तानको सुखद भविष्यको कामना गर्नुका साथसाथै दिवंगत आफन्तको वैकुण्ठबास(मोक्ष)को कामनाले धार्मिक कार्यमा संलग्न हुन्छौं।यसै सन्दर्भमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शक्तिपीठ एकहाते देवी मन्दिरको जीर्णोद्धार कार्य केही समयपछि हुने प्रक्रियामा रहेको हुंदा यस महान देवी यज्ञमा सहभागी भै पुण्यको भागी बनौ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist