✍️ अजय क्षेत्री
पोखरा, मासबारस्थित पुष्करेश्वर मन्दिरमा राष्ट्रिय परोपकार नारी इकाइ समिति पोखरा ७ को आयोजनामा तथा पोखरा महानगरपालिका वडा नं। ७ को आर्थिक सहयोगमा १ दिने वाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष राममोहन आचार्यले तालिमले घरायसी खर्चमा कटौती गर्नुका साथै महिलामा आत्मनिर्भरता विकास गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बजारमा उपलब्ध सिन्के अगरबत्तीभन्दा वाटेको धुप वातावरणमैत्री र स्थानीय स्रोतमा आधारित हुने भएकाले यस प्रकारको तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ पोखरा नगर इकाइ अध्यक्ष गिता लामिछानेले फुलेका फूल र वनस्पतिको उचित व्यवस्थापनका लागि महासंघले यस कार्यलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले वडा स्तरमा रहेका दिदीबहिनीहरूलाई सशक्तिकरणको लागि यस्ता सिपमूलक तालिमको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
तालिममा ९५ जना आमा दिदीबहिनीको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता मिना आचार्य, स्वागत मन्तव्य उपाध्यक्ष मनमाया बराल, र सञ्चालन सचिव कमला बरालले गर्नुभएको थियो। वडा सचिव राजेन्द्र पौडेलले सहभागीहरूलाई तालिमको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो।