✍️अजय क्षेत्री
लेखनाथ पत्रकार मञ्चले यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्त पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ। पौडेलले लेखनाथ क्षेत्रको उन्नयनमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्।
पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ। पुरस्कार १५ पुसका दिन कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोहका क्रममा अर्घौ अर्चलेमा प्रदान गरिनेछ।
पुरस्कार छनोट समिति
पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल रहेका थिए।
पौडेलको पत्रकारिता यात्रा
दुई दशकअघि गोल्डेन आइ टेलिभिजनबाट पत्रकारिता यात्रा सुरु गरेका ऋषिकान्त पौडेल हाल रेडियो नेपालमा आबद्ध छन्। उनले कान्तिपुर टेलिभिजन, एभि न्यूज टेलिभिजन, पोखरा हटलाइन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजनलगायतका सञ्चार संस्थामा आवद्ध भई समाचार संकलन तथा सम्पादनका माध्यमबाट लेखनाथ क्षेत्रको उन्नयनका लागि योगदान पुर्याएका छन्।
पौडेल लेखनाथ पत्रकार मञ्चका संस्थापक सदस्य तथा सल्लाहकारसमेत भइसकेका छन्। उनले हिमदूत पत्रकारिता पुरस्कार, यातायात व्यवसायिक पत्रकारिता पुरस्कारलगायत थुप्रै सामाजिक संघसंस्थाबाट सम्मान प्राप्त गरिसकेका छन्।
अघिल्ला सम्मानित व्यक्ति
यसअघि यो पुरस्कार मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल, सरिता तिमिल्सेना र दीपक परियारलाई प्रदान गरिएको थियो।
पौडेल नेपाल पत्रकार महासंघका साधारण सदस्य र प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत हुन्। उनी पोखरा महानगरपालिका वडा नं. ३१, पचभैयाका स्थायी बासिन्दा हुन्।