✍️ अजय क्षेत्री
कीर्तिपुर, मङ्गलबार – नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस संकटको बेला भाग्ने होइन, डटेर सामना गर्ने पार्टी भएको बताएका छन्। कीर्तिपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले हरेक संकटमा देशलाई साथ दिएको स्मरण गराए।
अध्यक्ष गुरुङले केही नयाँ भनिएका दलका नेताहरूको आचरणलाई लिएर कटाक्ष गर्दै भने, “देश छोडेर भागेका र विदेशमा ठगी गरेर फर्किएकाहरू अहिले देशमा विकृति फैलाउँदै छन्। उनीहरूले सहकारीको रकम ठगी गरेका छन्, र अब फेरि भाग्ने समय आउनेछ।”
गुरुङले सामाजिक सञ्जालमा फेक आईडी बनाएर नेताहरूको चरित्र हत्या गर्ने र गालीगलौज फैलाउने प्रवृत्तिलाई तीव्र आलोचना गरे। उनले भने, “देशमा विकृति मच्चाउनेहरूका कारण जनता निराश भएका छन्। जनताको विश्वास गुमाएर यस्तो काम गर्नेहरूलाई जनताले चाँडै चिन्नेछन्।”
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इङ्गित गर्दै उनले नाम नलिइकन आरोप लगाए, “ती नयाँ भनिएका शक्तिपार्टीहरू सहकारीमा आम मानिसका मेहनतका रकम ठगी गरेर जेलमा पुगेका छन्। अझै धेरै भाग्नेछन्।”
कार्यक्रममा अध्यक्ष गुरुङले कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोललाई विजयी गराउन अपील गरे। उनले कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गर्दै भने, “कीर्तिपुरका १० वडामा कांग्रेस विजयी हुनु जनताको माया र विश्वासको प्रतिफल हो।”
चुनावी कार्यक्रमपछि तरुण दलका अध्यक्ष गुरुङ घरदैलो अभियानमा सहभागी भएर कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्दै हिँडेका थिए।