चितवनको भरतपुरमा लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यसहित आयोजना भइरहेको मिस क्राउन चितवन नेपाल को ट्यालेन्ट राउन्ड भोलि (शनिबार) नारायणगढस्थित ल्यान्डमार्क नारायणीमा आयोजना हुने भएको छ।
हेभेन्ली इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा छनोट भएका १० जना टप टेन फाइनलिस्टले भोलि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्। प्रतियोगीहरूले आफूभित्र लुकेर रहेका कला, क्षमता र सिर्जनात्मकतालाई स्टेजमार्फत दर्शकमाझ प्रस्तुत गर्नेछन्।
कार्यक्रमका आयोजक तथा हेभेन्ली इभेन्ट म्यानेजमेन्टका संस्थापक सफल सुवेदीका अनुसार चितवनका युवतीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गराउँदै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

सुवेदीले चितवनको कला, संस्कृति, भाषा तथा मौलिक भेषभूषाको पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्नुका साथै युवतीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र आत्मनिर्भरताको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन्।
प्रतियोगिताले केवल सौन्दर्यलाई मात्र नभई व्यक्तित्व, प्रतिभा, आत्मविश्वास र स्थानीय पहिचानलाई समेत प्राथमिकता दिएको आयोजकको भनाइ छ |
ट्यालेन्ट राउन्डमार्फत चितवनकै प्रतिभाशाली युवतीहरूले आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने भएकाले सम्पूर्ण चितवनवासीलाई कार्यक्रममा उपस्थित भई चितवनका चेलीहरूलाई साथ, सहयोग र हौसला प्रदान गरिदिन आयोजकले विशेष अनुरोध गरेको छ।
मिस क्राउन चितवन नेपाल को ग्रान्ड फिनाली आगामी मङ्सिर १३ गते विभिन्न सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिसहित भव्य रूपमा आयोजना हुने बताइएको छ।










