राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।
गौतम र घिमिरे लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गृहेन्द्र विगतमा माओवादीमा आवद्ध थिए । हाल उनी व्यवसायमा छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ ।
विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । व्यक्तिगत प्रयोजनले जान लागेको भनेर सन्देश पठाएको पार्टी स्रोतले बतायो । उनले विवाह गरेको विषयमा भने जानकारी दिएकी छैनन् ।
सोविता र गृहेन्द्र प्रेम सम्वन्धमा रहेको रास्वपाका सीमित नेताहरुलाई थाहा थियो । अचानक विवाहको खबरले उनीहरु पनि चकित परेका छन् ।
सोविताकी बहिनी प्रकृतिले दिदीको विवाह भएको पुष्टी गरिन् । तर, थप जानकारी दिन चाहिनन् । पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता वैवाहिक विधि पूरा गरिएको हो ।
गृहेन्द्र गृष्मा ब्रोडकास्टिङको चेयरपर्शन हुन् । उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् ।
२८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं-२ बाट विजयी भएकी हुन् । उनले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आएकी छन् ।
रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा उनको नाम आउँछ । उनी कानूनकी विद्यार्थी हुन् ।