विदेशी पर्यटकलाई लक्षित गरेर स्थापना भएको क्यासिनो ताजले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको छ । पोखराको लेकसाईडमा स्थापना भएको उक्त क्यासिनोमा भारतीय, चाईनिज र जापानिज पर्यटक रमाउने गरेका छन् ।
क्यासिनोका मार्केटिङ् म्यानेजर एनिज गुरुङ्का अनुसार गण्डकी प्रदेशमै पहिलो खुलेको क्यासिनो पाएर पर्यटकहरु रमाउने गरेका छन् । गुरुङ्ले क्यासनोका कारण पोखरामा पर्यटकको वसाई पनि लम्बिएको दावी गरे । ‘हामीकहाँ आउने अधिकाँश पर्यटकहरु भारतीय हुन्, उनीहरु पोखरा र आसपासका विभिन्न ठाउँहरु घुमेर लेकसाईड आउँदा यो क्यासिनोमा एक रात मनोरञ्जन लिने गरेका छन् ।’ उनको भनाई छ ।
गत सेप्टेम्बर १५ मा क्यासिनोले वार्षिकोत्सव मनाएको हो । ताज ईण्टरटेण्डमेण्टले सञ्चालन गरेको यो क्यासिनो गण्डकी प्रदेशकै पहिलो हो । क्यासिनोले पर्यटककको बसाई लम्ब्याउनुको साथै सरकारलाई राजश्व संकलन र रोजगारी सिर्जना समेत गरेको गुरुङ्को भनाई छ ।
क्यासिनोले अहिले करिब १ सय ७० जनालाई रोजगारी दिएको छ । पोखरा आउने पर्यटकले चाहे अनुसार मनोरञ्जन लिने यो एक मात्रै गन्तव्य भएको एनिज बताउँछन् । ‘हुन त पोखरामा विभिन्न खाले रात्री जीवन र मनोरञ्जनहरु छन्, तर पनि यो भनेको फरक खालको मनोरञ्जन लिन चाहेनहरुका लागि एकमात्र आधिकारिक गन्तव्य हो ।’ उनले दावी गरे ।
गुरुङ्ले क्यासिनोमा नेपालीलाई निषेध गरिएको दावी समेत गरे । उनले क्यासिनो भित्र छिर्नुभन्दा अगाडी सम्बन्धित पर्यटकको कागजपत्रहरु चेकजाँच गरेर मात्रै भित्र प्रवेश दिईने जानकारी दिए । ‘नेपालीहरुलाई अनुमति छैन, हामीले, विदेशी पर्यटकको पासपोर्ट र भिसा समेत जाँच गरेर भित्र प्रवेश दिने गरेका छौं ।’ उनले भने ।
काठमाडौं बाहिर झापा र भैरहवामा पनि क्यासिनो सञ्चालनमा छन् । ती क्यासिनोका कारण पोखराको क्यासिनोको ७० प्रतिशत बजार कमी भएको गुरुङ्ले जानकारी दिए । ‘हामीकहाँ आउने धेरै भारतीय पर्यटकहरु भएकाले पुर्व पश्चिम दुवै सीमा बजारका क्यासिनोका कारण यहाँ अपेक्षा गरे अनुसारका भारतीय पर्यटक आउन सकेका छैनन ।’ उनले भने ।
पछिल्लो पटक क्यासिनोमा पर्यटक आउने सँख्यामा कमी आएको एनिज बताउँछन् । बाटोको समस्या तथा हवाईयात्रा असुरक्षित महसुस गरेका कारण पोखरा आउने पर्यटकको सँख्यामा कमी आएका कारण क्यासिनोको व्यापारमा पनि सुस्तता आएको उनले जानकारी दिए ।