✍️ विवेक न्याैपाने
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की प्रहरीको हिरासतबाट रुपन्देही लैजाने तयारी गरिएको छ। सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने २४ दिनदेखि कास्की प्रहरीको नियन्त्रणमा रहेका छन्।
पछिल्लो पटक आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। अदालतको निर्णयपछि कास्की प्रहरीले उनलाई अनुसन्धानको सिलसिलामा रुपन्देही लैजाने निर्णय गरेको हो।
लामिछानेमाथि सहकारीको रकम हिनामिनासम्बन्धी गम्भीर आरोप लगाइएको छ, जसका कारण प्रहरीले थप अनुसन्धानका लागि उनलाई रुपन्देहीमा लगेर बयान लिने तयारी गरेको हो।