✍️अजय क्षेत्री
कास्की – नेपाल विद्यार्थी संघ (ने. वि संघ) जिल्ला कार्यसमिति कास्कीको लामो समयदेखि जारी विवाद समाधान गर्न केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले नियमित अधिवेशनको माग गरेको छ। केन्द्रीय सदस्यहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा संगठनको वर्तमान अन्योल र त्यसले कास्की जिल्लाको संगठनमा पुर्याएको गम्भीर क्षतिलाई लिएर चिन्ता व्यक्त गर्दै अधिवेशन नै विवाद समाधानको एकमात्र उपाय भएको निष्कर्ष निकालेका छन्।
विगतमा सभापति तथा पूर्व सभापतिद्वारा पटक-पटक नयाँ नेतृत्व तोकिए पनि विवाद समाधान नभई झन् जटिल बन्दै गएको विज्ञप्तिमा उल्लेख छ। मातृसंस्था नेपाली कांग्रेसका केही नेताहरूले व्यक्तिगत स्वार्थका लागि विवाद समाधानमा अनिच्छा देखाएको आरोप लगाउँदै विज्ञप्तिमा अधिवेशनमार्फत संगठनको एकतामा मलमपट्टी लगाउन सबै पक्षलाई अपिल गरिएको छ।
संयुक्त विज्ञप्तिमा कास्कीबाट प्रतिनिधित्व गर्ने ने. वि संघका १५ जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन्। उनीहरूले ने. वि संघ कास्कीको अधिवेशन प्रतिनिधिका रूपमा आफूलाई तोक्न सभापतिलाई अपिल गर्दै संगठनलाई थप क्षति हुन नदिन आग्रह गरेका छन्।
यस विवादले ने. वि संघ कास्कीको गतिविधिमा अवरोध पुर्याउँदै विद्यार्थीहरूको हितका कार्यहरूमा बाधा पुर्याएको भन्दै तत्काल अधिवेशनको प्रक्रिया सुरु गर्न उनीहरूले जोड दिएका छन्।
बोधार्थ:
१) ने. वि संघका सभापति
२) नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कास्की
हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरू:
अन्जन थापा, कविराज पहारी, गंगा गिरी, निर्दोष विक्रम पौडेल, प्रताप बाँनिया, महादेव गिरी, रसिस हरि भण्डारी, राजिव बास्तोला, राजेन्द्र बराल, विजय घिमिरे, सन्जय आले, सुजी मगर, सुमिर जंग गुरुङ, सुरेन्द्र बस्नेत, र संस्कार कोइराला।