✍️ विवेक न्याैपाने
कास्की, रुपा-६- ध्रुवतारा क्लबले आफ्नो २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती वर्षको अवसरमा “रुपा मेला–२०८१” भव्य रूपमा मनाउने तयारी गरेको छ। यही पुस २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय, क्षेत्रीय, र राष्ट्रिय व्यक्तित्वहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक, खेलकुद, र पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिनेछ।
मेलाको मुख्य उद्देश्य क्लबद्वारा निर्माणाधीन रजत स्तम्भ र राष्ट्रिय झण्डाका लागि आवश्यक सहयोग जुटाउनुका साथै पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्नु हो।
मेलाको महत्व र उद्देश्यहरू :
ध्रुवतारा क्लबले यस मेलालाई केवल मनोरञ्जनात्मक गतिविधि मात्र नभई सामाजिक, आर्थिक, र सांस्कृतिक विकासको प्रेरणाको रूपमा लिनुका साथै निम्न मुख्य उद्देश्यहरू राखेको छ:
क्लब परिसरमा रजत स्तम्भ र नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन, स्थानीय कला, संस्कृतिको संरक्षण र प्रचार, पर्यटन प्रवर्द्धन मार्फत गाउँको आर्थिक समृद्धिमा योगदान, शिक्षा, स्वास्थ्य, र खेलकुदको विकास, होमस्टे र कृषि पर्यटनको विस्तार
मुख्य आकर्षण र कार्यक्रमहरू :
रुपा मेला–२०८१ मा निम्न आकर्षक कार्यक्रमहरू समावेश हुनेछन् ।
२१ औं ध्रुवतारा भलिबल प्रतियोगिता :
सामूहिक पदयात्रा,ग्रामिण लोक नृत्य प्रदर्शनी,कृषि प्रदर्शनी,ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता
गुरुयोजना र प्रगतिशील कदमहरू :
ध्रुवतारा क्लबले हात्तीमैता क्षेत्र, भिरचोक कोट मन्दिर, र आसपासका पर्यटकीय क्षेत्रहरूको भौतिक संरचना सुधार र व्यवस्थापन गर्न गुरुयोजनाको कार्यान्वयन गरिरहेको छ। क्लबले पिकनिक स्पट, भ्यू टावर, पदयात्रा मार्ग, र खानेपानी आपूर्ति योजना सम्पन्न गरेर स्थानीय र आन्तरिक पर्यटक आकर्षित गर्न सफलता पाएको छ।
स्थानीय सहभागिता र आर्थिक व्यवस्थापन :
मेलाका लागि आवश्यक आर्थिक स्रोत जुटाउन क्लबले दाताहरुलाई सहयोग गर्न आह्वान गरेको छ। योगदानदाताको नाम स्मारक शिलालेखमा उल्लेख गरी सम्मान गरिनेछ।
समाजका लागि योगदान :
मेलाले समाजलाई एकताबद्ध गर्दै स्थानीय स्रोतसाधनको उपयोगमार्फत आर्थिक उन्नतिको दिशामा प्रेरित गर्ने विश्वास लिइएको छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै पर्यटकीय गतिविधिमा तीव्रता ल्याउनेछ।
सम्बद्धताका लागि क्लबको आह्वान :
क्लबले स्थानीय, क्षेत्रीय, र राष्ट्रिय स्तरका व्यक्तित्व, संघसंस्था, तथा सर्वसाधारणलाई मेलामा सहभागी भई यसलाई ऐतिहासिक बनाउने अनुरोध गरेको छ।
“हाम्रो आत्मा… हाम्रो ध्रुवतारा क्लब” भन्ने नाराका साथ मनाइने यो मेला भिरचोक क्षेत्रको समग्र विकासको एक ऐतिहासिक कोसेढुङ्गा हुने अपेक्षा गरिएको छ।