पोखराको फेवातालस्थित सशस्त्र प्रहरीको एपीएफ रेस्क्यु वाच टावरमा हावा मापन यन्त्र (Wind Sensor Device) जडान गरिएको छ। यस यन्त्रले फेवाताल वरपरको हावापानी गतिविधिको सूचना तीन घण्टा अगाडि नै उपलब्ध गराउनेछ।
यसका कारण सराङकोटतर्फबाट आउने हावाहुरीले फेवातालमा हुने संभावित दुर्घटनालाई पूर्णरूपमा नियन्त्रणमा लिन सकिने विश्वास गरिएको छ। सशस्त्र प्रहरी बल कालिका गण, कास्की पोखराका गणपति एसपी अरुण कुमार शर्माले यो उपकरणले फेवाताल क्षेत्रमा सुरक्षाको नयाँ आयाम थप्ने बताए।
उक्त डिभाइस २०८१ पुस २६ गते आइसीमोड (ICIMOD) को सहकार्यमा जडान गरिएको भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने जनाइएको छ। गणपति शर्माले यसले सशस्त्र प्रहरी तथा नेपालको विपद् प्रतिकार्य क्षमतालाई सुदृढ पार्दै सूचनाको दृष्टिकोणबाट कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्।